arrow

लागूपदार्थ बेचबिखनको अभियोगमा जेल परेका युवाले सात विषयमा डिग्री गर्दै

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
laxman-thapa.jpeg
काठमाडौं । ‘१५ वर्ष जेल । पाँच लाख जरिवाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’ टोलाइरहेका लक्ष्मण थापाले भने ।
 
२०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए ।
 
लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् ।
 
बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । ‘मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें ।
 
गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थेुं, नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो । बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे ।
 
उनी अहिले पढाइका ‘एडिक्ट बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ ।
 
यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् । समाजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन् । पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए ।
 
मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा’, उनले भने ।
 
समाजशास्त्रमा थेसिस लेख्नैपर्ने भएकाले बाँकीमा भने उनले थेसिसको ‘अपसनल’ खोजे । पेपर नै दिए । उनलाई लाग्छ, जेल आएपछि पढ्न सिकें, पढाइभन्दा माथि धेरै कुरा बुझें ।
 
बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । 
 
चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए ।
 
एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्‍यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे ।
 
अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्‍यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ