इलाममा ३३० सौर्य सडकबत्ती जडान गरिने

प्रकाशित मिति : २०७३ फाल्गुण २४ मंगलबार , १,४३१ पटक हेरिएको
इलाम। इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ । 
 
इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए । 
 
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १२० सौर्य सडकबत्ती जडान गर्ने भएको छ । नगरपालिकाभित्रको चार किलोमिटर सडक क्षेत्रमा सौर्यबत्ती जडान गरिने कार्यालयका कमलनिधि चापागार्इंले बताए । 
 
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले राख्ने सौर्य सडकबत्तीका लागि प्राथामिकता निर्धारण गरिसकेको छ । भानुपथदेखि थेवेचोक, बसपार्कदेखि चोकबजार हुँदै मालापथ र धोबीधारा क्षेत्रसम्म सौर्य सडकबत्ती जडान गर्ने जनाएको छ । 
 
सरकारी कार्यालय परिसरमा थप ८० वटा सौर्य सडकबत्ती जडान गरिने बताइएको छ । त्यसका लागि पनि प्राथमिकता निर्धारण भइसकेको छ । यहाँ रहेका सबैजसो सरकारी कार्यालयमा सौर्य सडकबत्ती जडान हुने सहरी विकासका चापागाईंले बताए । 
 
“सौर्य सडकबत्ती राख्नका लागि अहिले सर्वे सम्पन्न भइसकेको छ”, चापागाईले भने “वैशाख-जेठसम्ममा काम सकिन्छ ।” सोही कार्यक्रमअन्तर्गत केही कार्यालयमा भने वर्षात्को पानी सङ्कलनको काम पनि गरिनेछ । रासस 
नयाँ