arrow

गगन प्रदिप हल वाँधेर तराई मधेशमा

कार्यकर्ताको सुझाव र प्रश्नको ओइरो

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
gagan-pradip.jpg.jpeg
काठमाडौं। संविधानका कुरा बुझाउन र पार्टीको सांगठनिक गतिविधीका बारेमा स्थानिय नेता कार्यकर्ताहरुसँगको अन्तरक्रियाका लागि काँग्रेस नेता गगन थापा अर्का नेता प्रदिप पौडेलसँग मध्य तराईका भ्रमणमा निस्केका छन्। तराई मधेश आन्दोलित भइरहँदा तराई मधेशका समस्या र तिनका समाधानमा केन्द्रमा भइरहेका पहलहरुमा पार्टीका स्थानिय कार्यकर्ताहरु र सर्वसाधारणको धारणा बुझ्न काँग्रेस नेता गगन थापा पौडेलसँगै मध्य तराइका लागि निस्किएका हुन। 
 
बारा, रौतहट, सर्लाही हुँदै नेताद्धय महोत्तरी पुगेका छन्। संविधानका अन्तर्वस्तुका बारेमा तराई मधेशमा रहेका भ्रमहरुलाई चीर्ने प्रयासमा नेताद्धय लागेका छन्। उनीहरुले तराई मधेशका जायज मुद्धाहरुलाई सम्वोधन गर्ने कार्यकर्ता र मतदाताहरुले राखेका मागहरुलाई पार्टीले प्राथमिकता दिएर टुङग्याउनु पर्ने बताएका छन्। मध्य तराइमा रहेका उनीहरुलाई कार्यकर्ताहरुले प्रश्न र सुझावको ओइरो समेत लगाएका छन्। 
 
बाराबाट शुरु गरेर मंगलवार रौतहटका विभिन्न कार्यक्रममा सहभागि भएका थापाले कैयन नेता कार्यकर्ताको धारिलो प्रश्न र पार्टीलाई अग्रगमनतर्फ लैजान सुझाव समेत पाएको फेसबुकमा लेखेका थिए। मधेशी समुदाय र पहाडी समुदायका बीचमा संवादका लागि तराई मधेश झरेका थापालाई पार्टीका स्थानिय नेता र कार्यकर्ताहरुले अर्काको लहैलहैमा भन्दा आफ्नै दृष्टकोणबाट तराई मधेशका समस्या समाधानमा लाग्न पनि सुझाए। 
 
रौतहटको थापा सहभागि भएको कार्यक्रममा काँग्रेस रौतहटका नेता अनन्त कोईरालाले भने- ' एमालेको बोलीमा लोली मिलाएर काँग्रेसका नेताले काठमाडौंवाट जथाभावी नबोलिदिने हो भने मात्र पनि हामी मधेसमा काँग्रेस भएर बस्न सक्छौं । म काँग्रेस नेतृत्वलाई एमालेसँग नवहकिन र काँग्रेस भएर बोल्न आग्रह गर्छु।'
 
रौतहटकै अर्का काँग्रेस नेता जयराम चौधरीले भने- 'मधेस आन्दोलनमा ८० प्रतिशत काँग्रेस कार्यकर्ता र मतदाता छन्। सहभागिताका हिसावले यो काँग्रेसकै आन्दोलन हो। त्यसैले काँग्रेसले नै मधेस आन्दोलनको संवोधन गर्न र देशलाई निकास दिन अग्रसरता लिनुपर्छ। काँग्रेसले मधेस आन्दोलनलाई अरुका आँखावाट हेर्न बन्द गर्नुपर्छ।'
 
नेपाली काँग्रेस वाराका युवा नेता रमाकान्त साहले वाराको कार्यक्रममा प्रश्न गरे- ' मधेसमा ४० भन्दा वढि मान्छे मारिँदा काँग्रेस किन नबोलेको ? '
 
कार्यकर्ताहरुको प्रश्नमा गगनले कतै आक्रोश भेटेका छन भने कतै सुझाव। कतै शुभेच्छा भेटेका छन भने कतै निराशा। तर सबैको सार भने काँग्रेसप्रतिको भरोसा र आशाको नजरनै छ गगन भन्छन। रमाकान्तको प्रश्नले घोरिएका गगनले भने "यो लाखौं मधेसी जनताको प्रतिनिधिमुलक प्रश्न हो।" 
 
आन्दोलनको नाममा मधेसमा अमानवीय र अपराधिक कृत्यको सधैं खिलाफमा भएको र त्यसका बिरुद्ध उभिनैपर्ने बताउने थापाले मधेस आन्दोलनको क्रममा राज्यको तर्फवाट भएको ज्यादतीको औचित्य पुष्टि गर्न कदाचित नसकिने र हाम्रो नेतृत्वको सरकार हुँदा भएको यो घटनावाट पनि पन्छिन नमिल्ने बताए। 
 
तराई मधेशको समस्या समाधानको सन्दर्भमा थापाले संविधान संशोधन गर्ने र समझदारी गर्ने राजनीतिक विषयमा पार्टी गम्भिर भएको र अझ हुनुपर्ने बताए। यतिवेला नेपाली काँग्रेसले अझ वढी महत्वको साथ मधेशसंग अविलम्ब संवाद शुरु गर्नुपर्ने उल्लेख गर्दै थापाले आफ्नो कार्यकालमा राज्यका तर्फवाट मधेसमा भएका ज्यादतीप्रति क्षमा याचना गर्न पनि सुझाएका छन्। 
 
आन्दोलको नाममा भएका होस वा नियन्त्रणका नाममा, पहाडमा होस वा तराईमा कुनै पनि अमानवीय र अपराधिक कृत्यको काँग्रेस विपक्षमा छ र रहनुपर्छ भन्दै थापाले यही क्षमायाचना सहितको संवादले मात्रै रमाकान्त जस्तै हजारौं कार्यकर्ता र जनताको दुखेको मनमा काँग्रेसले विश्वासको मल्हम लगाउन सक्ने बताएका छन्।
 
काँग्रे नेता कार्यकर्ताहरुलाई महाधिवेशनको चटारो लागिरहँदा गगन र प्रदिपको जोडीको सहयात्रालाई धेरैले सकारात्मक रुपमा लिएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ