arrow

भरतपुर महानगर प्रमुखमा रेणु र उपप्रमुखमा पार्वती विजयी, रचियो कीर्तिमान

रेणुले हिरोले जस्तै अन्तिममा अग्रता लिंदै देवीलाई २०३ मतले हराइन्

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
renu-dahal-parbati-shah.JPG

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् ।  

अन्तिम मतपरिणामअनुसार उनी ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेकी हुन् ।  

मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका भएका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेका थिए । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका थिए । 

यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भइन् । उनले ४७ हजार १९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेका छन् । 

यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरिन् ।  

भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन । 

प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । 

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । 

२७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । 

वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । उक्त मत पनि शनिबार गणना गरिएको हो । 

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । 

निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो । 

पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए । 

विजयी भएपछि प्रतिक्रिया दिँदै प्रमुख दाहालले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने बताइन् । 

जुन दलबाट उम्मेदवार भएपनि अब आफू साझा भएको भन्दै उनले समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्ने बताइन् । 

प्राकृतिक सम्पदाले धनी महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने उनको भनाइ थियो । 

उपप्रमुखमा विजयी शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन् । महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ