arrow

रसुवाको पहिरेबेंसी पहिरो : तीन जनाको शव फेला, घरमूली अझै बेपत्ता

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
rasuwa_pahiro.jpg

रसुवा । पहिरोले उत्तरगया गाउँपालिका–३ पहिरेबेँसीमा घरसँगै पुरिँएका चारमध्ये तीन जनाको शव फेला परेको छ । पहिरो खसेको पहिरेबेँसी पुगेका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले स्काभेटरले ३ जनाको शव निकालेको र एक जना अझै नभेटिएको बताए ।

उनले भने, ‘रातको समयमा स्काभेटरले पनि काम गर्न सक्ने अवस्था भएन । मंगलबार विहानै फेरि खोजि सुरु हुन्छ ।’
घर पुरिएको स्थानमा खोजी गर्दा ३३ वर्षीया मुना थापा, ४  वर्षीय रवीन्द्र थापा र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको शव फेला परेको छ । तत्कालीन जिल्ला पञ्चायतका उपसभापति ७७ वर्षीय धर्मबहादुर थापाको भने खोजी भइरहेको छ ।
पहिरेबेँसी क्षेत्रमा बसोबास गर्ने ४० जोखिममा रहेको भन्दै कुवापानी नजिकैको स्वास्थ्य चौकीमा सारिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

पहिरेबेँसीमा विस्थापित भएका १५ परिवारलाई अस्थायी रुपमा त्रिशुली ए र बी को कोलुनीमा राखिएको न्यौपानेले जानकारी दिएका छन् । उनले हाम्राकुरासँग भने, ‘पूर्णरुपमा विस्थापित भएकाहरुलाई प्रति परिवार १० हजारका दरले रातह वितरण भएको छ । खाना पकाउने, ओड्ने, ओछ्याउने सबै सामग्री वितरण भएको छ । अन्य व्यवस्थाका लागि सबैतिर पहल भइरहेको छ ।’ मृतकहरुको शव परीक्षण पछि नजिकका हक लाग्ने र परिवारका सदस्य कोही आए कृया खर्च स्वरुप एक लाख दिने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

पहिरोले भौतिक तथा मानवीय क्षति भएपछि जिल्लाका सुरक्षाकर्मी सोमबार बिहानैदेखि उद्धारमा खटिएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको ३५ जनाको टोलीले उद्धार गर्न नसकेपछि दुई वटा स्काभेटर लगेर पुरिएका व्यक्तिको उत्खनन गरिएको हो ।

रसुवाको सदरमुकाम धुन्चेबाट ४५ किलोमिटर पूर्वदक्षिणमा पर्ने उक्त क्षेत्रमा जाने बाटोमा विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने कार्य गरेसँगै करिव २ बजेतिर स्काभेटर त्यहाँ पुगेको थियो ।

पहिरोका कारण विस्थापित भएका पहिरो पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । पहिरेबेँसीका छत्र बहादुर थापा, रामचन्द्र थापा, अजित थापा मगर, लाल बहादुर थापा, गोपाल थापा मगर, हरि बहादुर थापा मगर, खड्क बहादुर घले, दीपक घले, बाबुराम थापामगर, देबकी भुजेल, कान्छी माया थापा मगर, चन्द्र प्रसाद भुजेल, ढकालस्वाराका रामचन्द्र थापा र ब्यान बहादुर थापाको घर पूर्ण क्षतिग्रस्त भएको हो ।

पहिरोको कारण जिल्लाको तीन वटा गाउँपालिका नराम्ररी प्रभावित भएका छन् । जिल्लाको तल्लोभागमा पर्ने उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको एक दर्जन स्थानमा पहिरो गएको छ ।

कालिका गाउँपालिकाको कटुन्जे, माँझगाउँ, धारापानी, घुम्तीवजार, उत्तरगया गाउँपालिकाको पैरेवेशी, ढुङ्गे, नौकुण्ड गाउँपालिकाको साँगाचौर, फाम्चेत, घिचेत, युब्रा लगायतको स्थानमा गएको पहिरोको कारण साढे २ सय घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

पहिलेबेँसीका २७, घिचेतका ४५, फामचेतमा ६०, गुम्चेतमा १२, साँगाचौरका २२ र युब्राका एक सय १० घर उच्च जोखिममा परेका छन् । प्रमुख जिल्ला अधिकारीले मंगलबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बोलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ