arrow

'मुनाफा होईन, नेपालीको माया लैजान नेपाल आएका हौं' 

logo
प्रकाशित २०७४ असोज १ आइतबार
khursid1.png

काठमाडौं । १३ सेप्टेम्बरदेखि काठमाडौंको युनाईटेड वल्र्ड टे«ड सेन्टरमा ‘मेड ईन पाकिस्तान एक्जिविसन’ चलिरहेको छ । पाकिस्तानमा उत्पादित सामग्रीहरुलाई नेपाली बजारमा पनि जानकारी दिने उद्देश्यले जारी रहेको सो एक्जिविसन १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नेपाल र पाकिस्तानबीचको व्यापारको दर एकदमै न्यून रहेको छ । तर, पनि पाकिस्तानको रावलपेण्डी चेम्बरले विगत ८ वर्षदेखि निरन्तर रुपमा नेपालमा यस्तो एक्जिविसन गरिरहेको चेम्बरका क्षेत्रीय समन्यव समितिका अध्यक्ष मोहम्मद खुर्सिद बर्लासले जानकारी दिए ।

अहिले नेपाल र पाकिस्तानबीच मुस्किलले वार्षिक १० लाख अमेरिकी डलर बराबरको मात्रै व्यापार हुँदै आएको छ । तर, पनि पाकिस्तानले नेपालमा आफ्ना उत्पादनबारे किन जानकारी दिन चाहिरहेको छ त ? महंगो ढुवानी खर्च तिरेर पनि किन नेपालमा अनवरत रूपमा पाकिस्तानले किन  प्रदर्शनी गरिरहेको छ ? पाकिस्तानी उत्पादनले नेपालमा बजार पाउन नसक्नुको कारण के हो भन्नेबारेमा पाकिस्तान उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका बर्लाससँग हाम्राकुरा डटकमका अखिल सिटौला र सुदर्शन अर्यालले प्रश्न गरेका थिए । 

नेपालमा पाकिस्तानको उत्पादनले कम व्यापार पाउनुको कारण 
हामीले पहिलोपटक जतिबेला नेपालमा ‘मेड ईन पाकिस्तान एक्सपो’ गरेका थियौं त्यतिबेला नेपालमा एक्सपो गर्नुको पछाडि दुईवटा कारण थियो । पहिलो थियो नेपालमा पाकिस्तानको कराँची तथा इस्लामावादबाट सीधा उडानको सुविधा जसले ट्रान्जिटको समस्या भोगिरहनु परेको थिएन । त्यतिबेला नेपालमा आउनको लागि टिकटको मूल्य थियो ३० देखि ३५ हजार । अहिले जहाजमा टिकेटको मूल्य बढेको छ । पाकिस्तानबाट नेपाल आउन र जानको लागि अहिले ८०÷९० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । एक पटक त हामीले १ लाख १० हजार रुपैयाँसम्म तिरेका थियौं । 

त्यस्तै, पहिले पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पीआईए) हुँदा हामीलाई ४५ रुपैयाँ प्रतिकेजीको दरमा कार्गाे सर्भिस दिने गरेको थियो । उसबेला कार्गाेको लागि स्पेसल डिस्काउन्ट मिल्दथ्यो । तर अहिले त्यो सुविधा पनि छैन । हामीले २ सय ९० देखि तीन सय १० रुपैयाँसम्म प्रतिकिलो सामानको शुल्क तिरेर नेपाल ल्याउनु परिरहेको छ । त्यसैले आर्थिक रुपमा यहाँ सामान विक्री गर्नको लागि त्यति उपयुक्त छैन । हामी नाफाको हिसावले त एक हजार परेको सामानलाई ११ सय मात्रैमा पनि बेच्थ्यौं बरु तर, भूपरिवेष्ठित हुनाको कारणले समूद्री तटबन्ध नभएको कारणले यहाँ हाम्रो सीधा व्यापारिक सम्पर्क हुन सकिरहेको छैन । त्यसैले नेपाल र पाकिस्तानबीचको व्यापार अहिलेको अवस्थामा वार्षिक एक मिलियन डलरको हाराहारीमा मात्रै हुने गरेको छ । 

मुनाफा होईन नेपालीको माया लैजान प्रदर्शनी
नेपाल र पाकिस्तान भनेको एउटा असल मित्र र एउटा असल दाजुभाइ हो । हामीहरुको भौगोलिक सीमाना मिल्दैन तर हाम्रो दिलको धड्कन मिल्छ । नेपालीहरु पाकिस्तानीलाई एकदमै माया गर्छन् हामी त्यही सम्बन्धको पैचो तिर्न आएका हौं । हामी यहाँ व्यापारिक दृष्टिले नाफा कमाउन आएका थियौं भने यतिबेलासम्म यो मेलाको समापन गरिसक्थ्यौं । व्यापारमा त नाफा देखिन्छ भावना देखिँदैन । तर हामी नाफाको लागि हौईन भावनाको लागि नेपाल आएका हौं । हामी यसकारण आएका हौं कि नेपालसँगको एउटा नाता जोडिईरहोस् बरु केही धन खर्च होस् तर मन नटाढियोस् । 

हामी एउटा शुभदिनको पर्खाईमा छौं कुनैदिन पीआईए सुरु हुन्छ र हामी नेपालमा सहजै आफ्नो सामान पठाएर व्यापार बढाउन सक्छौं । हामी यसैको लागि यो प्रदर्शनी गरिरहेका छौं कि हाम्रो यो सम्बन्ध हामीलाई सफ्टेरो पर्दाको बखत मात्रै होईन कि अफ्टेरो समयमा पनि चलिरहोस् । हामी यो कठिन समयमा पनि नेपालमा यस कारण आएका छौं कि सजिलो परिस्थितिमा नेपालसँग व्यापार गर्ने पाकिस्तानको अधिकार नखोसियोस् । 

नेपालमा लगानीको लागि सम्भाव्यता अध्ययन हुँदै 
नेपालमा पाकिस्तानी उद्योगीहरुको लगानी किन आएन ? यो महत्वपूर्ण कुरा हो । हामीले नेपालमा मात्रै होईन कि जुनसुकै देशमा पनि लगानी गर्नुपूर्व त्यहाँको व्यापारिक वातावरण सर्भे गर्नुपर्छ । हामीले कुनै सामान उत्पादन मात्रै गरेर त्यसको विक्री भएन भने व्यापारी समस्यामा पर्छ त्यो सर्वव्यापी कुरा हो । त्यसैले व्यापार गर्ने भनेको नाफा कमाउनको लागि हो र उद्योग खोल्ने भनेको पनि नाफा कमाउनको लागि हो । नाफा कमाउनको लागि धेरै सामान खपत हुनुपर्छ । यहाँ तपाईले उद्योग खोल्नुहोस् त्यो तपाईको उत्पादन आवश्यक छैन वा खपतको लागि बजार छैन भने त्यहाँ त लगानी डुब्यो । त्यसैले हामी नेपालको पनि मार्केट सर्भे गर्दैछौं । यो बजार सर्भे गरिसकेपछि उपयुक्त भेटेको खण्डमा पाकिस्तानी लगानीकर्ताहरुले यहाँका स्थानीय उद्योगीहरुसँग मिलेर कुनै क्षेत्रमा लगानी गर्न सक्छन्। 

उद्योग चल्नको लागि आवश्यक पर्ने धेरै कुरा यहाँ छ । कच्चा पदार्थ यहाँ छ, आवश्यक जनशक्ति यहाँ छ तर मार्केट भएन भने त लगानीको अर्थ रहेन । मैले कुनै सामान १० करोड उत्पादन गरेँ तर यहाँ मार्केट क्यापासिटी एक करोडको छ भने मैले नौ करोड सामान कहाँ लगेर बेच्ने ? हामीले उत्पादन गरेकोमा पनि कम्तिमा ६५ प्रतिशत त खपत हुनु प¥यो नि । ३५ प्रतिशत त बरु लगानीकर्ताले ‘रिक्स’ लिनसक्छ । त्यसैले पनि नेपालमा पाकिस्तानी लगानी धेरै नभित्रिएको हुनसक्छ । 

सधैं राहुलपेण्डी चेम्बरको मात्रै प्रदर्शनी किन ?
राहुलपेण्डी चेम्बर इस्लामावादबाट एकदमै नजिकै छ । यो काठमाडौं र ललितपुर जस्तै एकदमै नजिक रहेको शहरको चेम्बर हो । त्यसैले हाम्रो पनि सरकारको वाणिज्य मन्त्रालय र विभिन्न देशका राजदूतावासहरुसँग एकदमै राम्रोसँग सम्बन्ध राख्ने मौका जु¥यो । हामीले ३५ वर्षअघिदेखि विभिन्न देशहरूमा यस्ता प्रदर्शनीहरु गर्दै आएका छौं । हाम्रो यति लामो अनुभवका कारण पनि कुनै प्रदर्शनी गर्दा मन्त्रालयले आफैं भन्नेगर्छ छ कि ‘तपाईहरु आफैं यसको नेतृत्व लिनहोस् किनभने तपाईहरु नै धेरै अन्तराष्ट्रिय कार्यक्रमहरु गर्दै आउनु भएको छ ।’ 

पाकिस्तामा चिनियाँ लगानी ‘विन विन पोजिसन’ 
अहिलेको अवस्थामा पाकिस्तानमा ७५ प्रतिशत चिनियाँ लगानी पूर्वाधारका लागि भित्रिएको छ । कूल लगानीको २५ प्रतिशत मात्रै लगानी उद्योग क्षेत्रमा भित्रिएको पाकिस्तान सरकारको तथ्यांकले देखाउँछ । हामीले हाम्रो सरकारलाई चिनियाँ लगानीमा केही कडा ‘ट्रम एण्ड कण्डिसन’ राख्नको लागि पनि आग्रह गरेका छौं । हामीले चिनियाँ लगानीकर्ताहरुलाई लाईसेन्स दिँदा यस्तो कानूनी व्यवस्थाको माग गरेका छौं जसले चिनियाँ लगानी पाकिस्तान भित्रिँदा २५ प्रतिशत पाकिस्तानी उद्योगीलाई पार्टनर बनाउनै पर्ने होस् । 

चिनियाँ लगानी प्रवर्द्धन भईसकेपछि पनि जब यहाँबाट सामान एक्सफोर्ट हुन्छ । तबमात्रै विदेशबाट पाकिस्तानमा पैसा आउँछ । लगानीकर्ताले नाफाबापतको केही प्रतिशत मात्रै लैजान पाउँछ । यो विषयमा पाकिस्तान र चीन सरकारका दुबै अधिकारीहरु सकारात्मक रहेकोले पाकिस्तानमा चिनियाँ लगानीलाई हामीले दुबै पक्षको जीत सम्झिएका छौं । अहिले कपर, चामल लगायतका कच्चा पदार्थहरु पाकिस्तानमा अत्यधिक रुपमा पाईन्छ । यी क्षेत्रमा पाकिस्तान विश्वको सबैभन्दा धेरै कच्चा पदार्थ भएको मुलुकभित्र पर्दछ । समग्र कच्चा पदार्थमा पनि पाकिस्तान विश्वको मूल १० देशभित्र पर्दछ ।  अब कुरा पाकिस्तानमा लगानी गर्दा चीनलाई फाईदा के त ? चीनलाई पनि फाईदा अवश्य पनि छ ।

जव चिनियाँहरु पाकिस्तानमा आएर लगानी गर्छन् तब पाकिस्तानमा चीनमा भन्दा सस्ता कामदार पाउँछन् । कच्चा पदार्थ पनि यही नै पाईन्छ, जसले यसमा पनि लगानी कम लाग्छ । विक्रीको लागि बजार पनि दुई सयदेखि ५ सय किलोमिटरमा पाईन्छ । तर, चीनबाट उत्पादन गर्दा कच्चा पर्दा ४÷५ हजार किलोमिटरको दूरीमा लैजानुपर्छ, सामान उत्पादन गरेपछि सोही दूरीको ढुवानी खर्च तिरेर फेरि ल्याउन पर्‍यो । त्यसो गर्दा लगानीकर्ताले दोहोरो खर्च गर्नुपर्ने हुन्छ । 

त्यसैले चीन एउटा पूर्ण व्यापारिक सोचाई राख्ने मुलुक हो । चीनले पाकिस्तानमा लगानी गर्नु भनेको दुबै देशका लागि ‘विन विन पोजिसन’ हुन्छ भन्न सकिन्छ । चीन हाम्रो असल मित्र हो । हामीले पनि मित्रता निभाईरहेका छौं र उनीहरुले पनि मित्रता निभाईरहेका छन् । चीनले पाकिस्तानसँग अहिलेको व्यापार सोचिरहेको छैन । उसले त अहिलेको भन्दा पनि ४० वर्ष पछिको व्यापार सोचिरहेको छ । चिनियाँ लगानीले हाम्रोदेशमा लोडसेडिङको अन्त्य हुन्छ । हाम्रो देशको रोड राम्रो बन्छ । उनीहरुले उद्योग खोल्दा हाम्रा जनताहरुले रोजगारी पाउँछन् । अनि दुबै पक्षलाई फाईदा भएन त ? 

अन्तमा 
जाँदाजाँदै म यो भन्न चाहन्छु कि हामी नेपालमा अहिले व्यापार गरेर मुनाफा कमाउने हिसावले प्रदर्शनी गर्न आईरहेका छैनौं । हामी यहाँबाट मुनाफा होईन कि माया लिएर पाकिस्तान जान चाहन्छौं । हामी यो बहुदेशीय व्यापारको बाहानामा नेपालीसँगको प्रेम साँटासाँट गर्न नेपाल आईरहेका छौं । जसरी हामी आयौ स्टलहरु राख्यौं नेपालीहरुसँग एउटा आत्मीयता गाँस्नको लागि हो । तपाईँहरु आउनुभयो हामीसँग जोडिनु भयो हाम्रो मित्रता गाँसियो यो मित्रता सदासदाको लागि जारी रहोस् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ