arrow

देउवाको जिल्लामा काँग्रेसको चुनावी समीक्षा

देउवालाई प्रभावमा पारेर मनपरी टिकट वितरण गर्नेलाई कारबाहीको माग

logo
राम धामी ,
प्रकाशित २०७४ असोज ३ मंगलबार
krna_malla.jpg

डडेल्धुरा । डडेल्धुरा काँग्रेसले स्थानीय तहको निर्वाचन सकिएको लामो समयपछि स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ ।

जिल्लाका नेता कार्यकर्ताको भेलाले स्थानीय निर्वाचनको समीक्षा गर्दै पार्टीको निर्वाचित जिल्ला नेतृत्वलाई बाईपास गरेर विधि पद्धति विपरीत टिकट वितरण गरिएका कारण निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकिएको निष्कर्ष निकालेको छ ।

भेलामा सहभागी डडेल्धुरा जिल्ला कार्यसमिति सदस्य गोकुल शाहीले छैटौं जिल्ला अधिवेशनमा पराजित व्यक्तिहरुले केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवालाई प्रभावमा पारेर अन्यायपूर्ण ढंगबाट टिकट वितरण गरेकाले निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको गुनासो बढेको बताए ।

नाम खाली राखिएका टिकट होटेल र रक्सी भट्टीबाट वितरण भएकाले निर्वाचनमा काँग्रेसका उम्मेदवार पराजित भएका हुन्, काँग्रेस कोटेलीका सभापति भोजबहादुर साँउदले भने, ‘टिकट वितरणमै अन्याय भएपछि पार्टीले केही स्थानमा पराजय भोग्नु परेको हो ।”

टिकट वितरण गरिँदा जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लसहित अधिकांश नेताहरुलाई जानकारी नै नदिइएको र पार्टीले विधिसम्मत चयन गरेका उम्मेदवारहरुलाई टिकट नदिइएको बताउँदै डडेल्धुरा जिल्ला कार्यसमितिका उपसभापति करुणाकर भट्टले जिल्ला अधिवेशनमा पराजयको तुस बोकेर केही व्यक्तिहरुले मनोमानी ढंगले टिकट वितरण गरेको बताए ।

छैटौं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित रघुबर भट्टलगायतका नेताहरुले डडेल्धुरा सदरमुकाममा होटेलमा बसेर निर्वाचनको पूर्वसन्ध्यामा टिकट वितरण गरेका बताइँदै छ । टिकट वितरणमा धाँधली भएको भन्दै केही स्थानीय तहमा काँग्रेसका नेता कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्ला अधिवेशनमा पराजित भएपनि पार्टीमा प्रभुत्व राख्दै आएका भट्टलगायतका नेताहरुले पार्टी सभापति देउवा र सांसद डा.आरजु देउवा राणालाई प्रभावमा पारेर मनपरी टिकट वितरण गरेकोप्रति अधिकांश नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । महासमिति सदस्य गोविन्दराज बोहरा, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिँह महरलगायतका नेताहरुले टिकट वितरणमा धाँधली गरेको भन्दै अधिकांश नेता कार्यकर्ताहरुले उनीहरुमाथि कारबाही हुनु पर्ने माग राखे ।

७ स्थानीय तह रहेको डडेल्धुरा काँग्रेसको पकड मानिए पनि तीन स्थानीय तहमा काँग्रेसले नेतृत्व गुमाएको छ । पूरानो नगरपालिका अमरगढी, अजयमेरु गाँउपालिका र नवदुर्गा गाँउपालिकामा नेतृत्व गुमाएको काँग्रेसले अधिकांश वडाहरुमा समेत पराजय भोगेको थियो ।

पार्टीले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण जिल्ला कार्यसमिति सभापति मल्लले अन्तर्घात गरेको भन्दै उनीविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिले जिल्ला सभापति मल्ललाई स्पष्टिकरण सोधेको छ ।

आफु अपमानित भएरपनि पार्टीलाई जिताउनुपर्छ भन्दै सभापति मल्ल स्थानीय तहको निर्वाचनमा निकै सक्रिय भएर लागेको भन्दै स्पष्टिकरणको सोधिएकामा नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । कार्यकर्ताले मल्लको बचाउ गर्दै भट्ट, बोहरा र महरलगायतका नेता कार्यकर्तालाई कारबाही हुनुपर्ने माग राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ