arrow

‘कम्युनिष्ट शासन चाहिँदैन,अधिकार खोस्न पाइँदैन’ – काँग्रेस नेता आनन्द ढुंगाना

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
d1.jpg

कजरा रमौल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार आनन्द ढुंगानाले कम्युनिष्टहरुलाई नेपाली जनताको अधिकार खोस्ने दुष्चेष्टा नगर्न चेतावनी दिएका छन् । 

धनुषा क्षेत्र नं  १ अन्तरगत कजरा रमौलमा आयोजित चुनावी सभालाई संबोधन गर्ने क्रममा उनले सो चेतावनी दिएका हुन् ।  

एमाले र माओवादी मिलेर नेपालमा कम्युनिष्ट शासन ल्याउने दावी गरेको बताउँदै उनले भने,“ हामीलाई कम्युनिष्ट शासन चाहिँदैन, जनताको अधिकार खोस्न पाइदैन।”

उनले नेपाली जनताले ७० बर्षको संघर्षपछि पाएको यही संविधानलाई संशोधन गरी जनतालाई अधिकार सम्पन्न गर्न सकिने र विकास तथा समृद्धि पनि हासिल गर्न सकिने बताए ।

 उनले एमालेप्रति रोष प्रकट गर्दै भने,“ संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकारले सुसज्जित बनाऔ भन्दा विरोध गर्ने एमाले अहिले जनताको अधिकार खोसेर साम्यवादी शासन ल्याउने सपना देखेको छ, लेखेर राख्नुहोस् नेपाली जनताले त्यसलाई कहिल्यै पूरा हुन दिने छैनन् ।”

 नेपाली जनताले लामो समय संघर्ष गरेर हासिल गरेका अधिकारहरुको रक्षा गर्न लोकतान्त्रिक शक्तिलाई नै मजबूत बनाउन पर्ने भएकोले फेरि पनि नेपाली कांग्रेसको विकल्प नरहेको उनले उल्लेख गरे ।

उनले संविधानले राजनीतिक व्यवस्थाको टुंगो लगाई सकेको हुनाले अब नेपाली कांग्रेस जनतालाई सुखी र सम्पन्न बनाउने अधियानमा लाग्ने बताए । “अब हाम्रो ध्यान  विकास निर्माण र आर्थिक समृद्धि हासिल गर्नेमामात्र केन्द्रित हुनेछ ” उनले भने ।

 नेता ढुंगानाले मधेशी जनताको माग र आवश्यकता अनुरुप संविधानको संशोधन पनि नेपाली कांग्रेसबाट मात्र सम्भव भएको बताए ।

 नेका उम्मेद्वार ढुंंगानाको टोलीले सोमबार ईनर्वा, ललिया, उत्तिमपुर, मिथिलेश्वर, भुतही र पटेर्वा सहितका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

 घरदैलो कार्यक्रममा धनुषा क्षेत्र नं १ प्रदेश (ख) का नेपाली कांग्रेसका उम्मेद्वार रामउदय यादव,प्रदेशसभा समानुपातिक उम्मेदवार रामसुन्दर महरा,जिल्ला कोषाध्यक्ष हरिनारायण साह,महाधिवेशन प्रतिनिधि रामपल्टन साह, प्रदीप यादव,श्यामलाल महतो,उमेश साह,मदन घिमिरे, भोगेन्द्र ठाकुर लगायतका वक्ताहरुले नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।

 चुनावी प्रचार अभियानमा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ