arrow

दुर्इ लक्ष्मी : सिंहदरबार पस्नेलाई के खाउँ ?, बाटोमा बस्नेलाई भक्तपुरमा घडेरी

'सरोजलाई ठीकै र महेशलाई पिरलाे'

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ माघ ९ मंगलबार
tarkari.png

काठमाडौं । भान्छामा तरकारीको कुरा आयो की, सुरु भइहाल्छ,, ‘बजाराँ तरकारी महँगो भो । छोइनक्नु भो । के साह्रो भाउ बढेको ? बाटाँ बस्नेहरुले पनि कति महँगो बेचेका ?’

यस्तै पिरलो हुन्छ, बानेश्वर बस्ने लक्ष्मी कार्की पनि । उनी सरकारी जागिरे । काम गर्ने ठाउँ सिंहदरबार । काठमाडौं बसेको १८–१९ वर्ष भयो । उनीसँग अहिले तीन जनाको परिवार छ । काम गर्ने मन्त्रालयमा । कति छ तलब ? उनको जवाफ थियो, ‘१६ हजार’ । उनी कार्यालय सहयोगी । उनले भनिन्, ‘यही तलबले रोजे र खोजेको तरकारी खान मुस्किल छ ।’ ठाउँ अनुसार तरकारीको भाउ सोध्दा फरक–फरक हुन्छ । एकै ठाउँमा बेच्न बसेकाहरुको पनि भाउ मिल्दैन, उनले भनेकी छन्, ‘हामी टाढा जान सक्दैनौँ । टाढा गएको भए सस्तो पाइन्थ्यो होला ।’ तरकारी खानै पर्‍यो । नजिकैको पसलमा गयो महँगो हुन्छ, उनले भनिन् ‘खै महँगी कसले नियन्त्रण गर्छ ?’

उनले १६ हजार तलबले छोरा पढाउँछिन् । उनका छोरी कलेज पढ्छन् । घर भाडा ६ हजार विजुली पानीको गरेर ७ हजार । दैनिक उपभोग्य अन्य सर–सामान । यस्तै, अन्य खर्च पनि । तर, तरकारीका लागि दैनिक नगदै चाहियो । काउली, साग, टमाटर, प्याज, आलु किन्नै पर्‍यो, उनले भनिन्, ‘छोइनक्नु महँगी ।’ सरकारी जागिर खाने । सिंहदरबार पस्ने लक्ष्मीलाई त तरकारी छोइनक्नु भयो भने, बाटोमा जुत्ता सिलाउने महेश चमारको अवस्था के होला ?

महेश भन्छन्, ‘तरकारीको मूल्य सुन्दै चक्कर आउँछ । छोइनक्नु छ । पहिले–पहिले तरकारी खान दुःख थिएन । अहिले महँगी बढ्दै गयो । तरकारीमै बढी खर्च हुन्छ ।’ भारतको सोनवर्साबाट काठमाडौं आएको २० वर्ष कट्यो । उनको परिवारका सदस्य,–दुई छोरा, एक छोरी र दम्पती । काठमाडौंको कोठा भाडा २७ सय । दिनमा कति कमाउनु हुन्छ ? जवाफमा उनले भने, ‘त्यस्तै पाँच सय । हजार । कहिले काँही कमाई हुँदैन ।’ चामल त घरबाट ल्याउन सकिन्छ । तरकारी धेरै दिन राख्न मिल्दैन, धेरै ल्याउन सकिँदैन, उनले भने । बाटोमा जुत्ता सिलाउनु, जुत्ता पोलिस गर्नु उनको दैनिकी हो । तर, उनी विवाहमा बाजा बजाउन पनि सिपालु । मौका मिल्यो कि विवाहमा गइहाल्छन् । कति दिन्छन् त बाजा बजाएको ? उनले जवाफ दिए, ‘खाना दिन्छन् । र, त्यही एक हजार हातमा दिन्छन् ।’

तरकारी बेच्नेको कथा भने अलिक फरक छ । इटहरीबाट काठमाडौं आएपछि सुरुमा के गर्ने भन्ने भेउ पाइनन्, लक्ष्मी रेग्मीले । केही वर्ष गार्मेन्टमा अल्झिइन् । त्यसले गर्जो टरेन । पछि उनी बानेश्वर चोकमा फुटपात पसल गर्न थालिन् । तरकारी बेच्न थालेको १७–१८ वर्ष भइसक्यो । अहिले उनीहसँग चार जनाको परिवार छ । बहिनीको छोरी पनि सँगै राखेकी छन् उनले । तरकारी बेचेरै लक्ष्मीले छोरा राम्रै स्कुल र कलेज पढाइन् । अहिले छोरा अष्ट्रेलिया जाने तरखरमा रहेको पनि उनले सुनाइन् । तरकारी बेचेरै उनले भक्तपुरमा घडेरी जोडिन् ।

तरकारी कहाँबाट ल्याउनु हुन्छ ? जवाफमा उनले भनिन्, ‘भक्तपुर, कालीमाटी र कहिलेकाँही बानेश्वर बजारबाट ल्याउँछौँ ।’ बारीबाट ल्याउँदा अलिक सस्तो पर्छ, बेच्दा पनि धेरै दाम लिन्नाँै । उनले अगाडि भनिन्, ‘तरकारी बजारबाट ल्याएको तरकारी हामीलाई पनि महँगो पर्छ, हामीबाट किन्नेलाई पनि महँगो पर्न जान्छ ।’ कति रुपैँया फरक पार्नु हुन्छ ? ‘त्यही ५–७ रुपैँया फरक हुन्छ । तरकारी हेरेर हुन्छ’ उनले जवाफमा भनिन् । किन महँगो गरेको ? लक्ष्मीको जवाफ थियो, ‘हामीले पनि गाडीभाडा तिर्नु पर्छ ।’ उनलाई आफूले तरकारी महँगो बेचेको जस्तो लाग्दैन । खोजेर ल्याउनु पर्छ, गाडीवालाले भाडा लिन्छन्, सबै गाडीवालाले तरकारी हाल्न मान्दैनन् । तर, तरकारी व्यापार गर्न उनलाई बानि परिसक्यो । उनी भन्छिन्, ‘सानै भए पनि आफ्नै व्यापार व्यवसाय गर्नु ।’

बाटोमा तरकारी बेच्नेको कथा भन्दा अलिक फरक कथा छ , किराना पसल थापेर बस्ने सरोज कार्कीको । किराना पसले थिए, पहिले उनी । पछि तरकारी पनि बेच्न थाले । ५–६ वर्ष भयो तरकारी बेच्न थालेको । पसलमा तरकारी विक्रि हुन्छ ? जवाफमा उनी भन्छन्, ‘हुन्छ ।’ पसलमा राखेकै भएर तपाईले महँगो बेच्नु हुन्छ रे हो ?  ‘हामीले घरभाडा तिर्नु पर्छ । बाटोमा बस्नेहरु तिर्दैनन् । हामीले ल्याएको तरकारीको बिहान बेलुका एउटै भाउ हुन्छ । उनीहरुको विहान बेलुका फरक–फरक भाउ हुन्छ’ सरोजले जवाफ दिए ।

यसबाट फाइदा छ, किरानामा तरकारी किन राख्नु भा ? उनले भनेका छन्, ‘छोरा छोरी पढाउन र खान लगाउन पुगेकै छ ।’ कति तिर्नु हुन्छ भाडा ?  ‘कोठा भाडा, गोदाम र पसल गरेर महिनाको ३५ हजार’ उनले जवाफ दिए । कमाई हुन्छ त ? ‘हुन्छ’ । कति नाफा खानु हुन्छ ? ‘किलोमा त्यही १५–२० रुपैँया ।’ अनि आलुको भाउ ? ‘किलोको ७०, ८० र १०० । प्याज १००, काउली ६०–७०, गाँजर ६०–७०, मुला ४०–५० । तरकारीको भाउ दिनकै घटबढ भइरहन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ