arrow

देउवालाई तनाव : पौडेल पक्षले बहिस्कार गर्छु भनेपछि बैठक भयो स्थगित

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
Sher.jpg.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा पार्टी भित्रै अफ्ठ्यारोमा परेका छन् । सरकारबाट बाहिरिएसँगै देउवा पार्टीको आन्तरिक झमेलामा फसेका हुन् ।

उनले विहिबारका बोलाएको  केन्द्रीय कार्यसम्पादन समिति बैठक समेत स्थगित गर्नु परको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी महामन्त्री शंशाङ्क कोइराला लगायतले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएपछि देउवालाई अफ्ठ्यारो पर्ने भइहाल्यो ।

पौडेल पक्षले बहिस्कार गर्ने बताएपछि उनले आफु निकटका नेताहरुसँग परामर्श गरेर बैठक स्थगित गरेका हुन् । पौडेलपक्षका नेताहरुले विधान विपरीत बनाइएको कार्यसम्पादनको बैठकमा नआउने धम्की नै दिएका छन् ।

उनीहरुले भनेका छन्, ‘अब फेरि पनि गल्ती गरिँदैन । विधानभन्दा बाहिर गएर बनाएको कार्यसम्पादनमा उपस्थित भएर पटक–पटक त्यसलाई अनुमोदन गरिँदैन । बरु, केन्द्रीय कार्यसमितिको बैठक बोलाइनु पर्दछ ।’

देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने सुइँको पाएपछि रामचन्द्र पौडेल लगायत महामन्त्री कोइराला निवास पुगे । उनीहरुले त्यहाँ छलफल गरे । उनीहरु बैठक बसेको थाहा पाएपछि देउवाको कार्यशैलीप्रति असन्तुष्ट अन्य नेताहरुले पनि फोन गरेर केन्द्रीय समितिको बैठक बोलाउनका लागि दबाब डाल्न भने ।

पौडेल पक्षधरहरुले देउवा फेरि पनि पूरानै शैलीले कार्यसम्पादनबाट धेरै कुरा अनुमोदन गराउन खोजिरहेको आरोप लगाएका छन् । नयाँ संविधान अनुसार भएका सबै निर्वाचनमा काँग्रेसको कमजोर उपस्थिति हुनुको कारण देउवाकै कार्यशैली जिम्मेवार रहेको आवाज चर्को रुपमा उठेका बेला विधि र विधानको विषय अझ जोडतोडका साथ उठेको छ । अर्कोतिर संगठन शुद्धिकरण पार्टी नेतृत्वबारे पुनःविचार गर्नुपर्ने आवाज समेत उठिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ