arrow

जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छ्रैन - राजकुमार ह्यारी

logo
शरच्चन्द्र भण्डारी
प्रकाशित २०७२ चैत ४ बिहिबार
Belayati-Rajkumar.jpg.jpeg
काठमाडौँ । “जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छ्रैन” भनेर पराक्रमी गोर्खा सैनिकको मुक्तकण्ठले प्रशंसा गर्ने बेलायतका राजकुमार ह्यारीबाट आगामी शनिबारदेखि नेपालको औपचारिक भ्रमण हुँदैछ । 
 
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रुपमा राजकुमार ह्यारीबाट यो भ्रमण हुन लागेको हो । 
 
आफ्नो राष्ट्रिय सेनाअन्तर्गतको गोर्खा बटालियनसँग सन् २००७—८ मा अफगानिस्तानमा बिताएका निश्चिन्त क्षणको वर्णनमा व्यक्त उद्गार र गोर्खा सैन्यको मातृभूमिमा नै राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिडबाट पहिलोपटक हुन लागेको यो भ्रमणलाई सफल तुल्याउन सरकारले सम्पूर्ण तयारी प्रायः पूरा गरेको छ । 
 
विश्वमै बहादुरी, व्यावसायिक एवम् समर्पित गोर्खा सैनिकका रुपमा प्रसिद्धि पाएको नेपालले बेलायती राजमुकुटको रक्षाका निम्ति गरेको योगदानको सम्मान पनि हो¬—राजकुमार ह्यारीको पाँचदिने नेपाल भ्रमण । 
 
सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुर छ । विशेष सम्बन्ध भएकाले नै कैयौँ नेपाली रोजगार वा अध्ययनका सिलसिलामा बेलायतमा रहने गरेका छन् भने बेलायती जनता पनि नेपालका पर्यटकीय स्थलको भ्रमणमा आउने गरेका छन् । नेपालका युवामाझ लोकप्रिय खेल फुटबलको चर्चा चल्ने बित्तिकै त्यहाँको प्रख्यात क्लब म्यान्चेस्टर युनाइटेड सबैभन्दा पहिले उच्चारण हुन्छ । 
 
नेपालमा लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व र विकासका निम्ति आफ्ना सहयोगी हात फैलाउँदै आएको बेलायतले अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी०मार्फत गरिबी घटाउने, सहज सेवा प्रवाह, सुशासन प्रवद्र्धन, विपद् व्यवस्थापन, जलवायु अनुकूलन, आधारभूत स्वास्थ्य, शिक्षा, शासकीय सुधारजस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । खानेपानी तथा सरसफाइ, कृषि, ग्रामीण पूर्वाधार विकास, यातायात, सञ्चार, प्रशासन र वन विज्ञानमा पनि उल्लेख्य सहायता प्रदान गरेको छ । 
 
पाँचवर्षे विकास रणनीतिअन्तर्गत नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउँदै आएको बेलायतले आगामी सन् २०२१ सम्म हरेक वर्ष दश करोड पाउन्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माणका लागि गत असारमा यहाँ सम्पन्न नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा उसले ११ करोड अमेरिकी डलर प्रदान गर्ने वाचा गरेर नेपालको सुखदुःखको असल साथीको रुपमा आफूलाई उभ्याएको छ । नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको पूर्वाधार विकास, पर्यटकीय पदमार्ग र हवाइ सुरक्षासम्बन्धी परियोजनामा पनि बेलायतले मद्दत गर्दै आएको छ । 
 
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा बेलायती राजसंस्थाका प्रतिनिधिको यो भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै राजकुमारलाई स्वागत गर्न व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताउनुहुन्छ । 
 
“भ्रमणलाई हामीले उच्च महत्वका साथ हेरेका छौँ र त्यसलाई अविष्मरणीय बनाउन पूर्ण तयारी गरिएको छ,” नेपाल र बेलायतबीचको सम्बन्ध थप प्रगाढ बन्ने यो भ्रमण नेपाल र नेपालीका निम्ति खुसी र गौरवको विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो । 
 
पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापा राजकुमार ह्यारीको भ्रमणलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । कुनै समयको विश्वको सर्वशक्तिमान मुलुक बेलायतले तत्कालीन जटिल अवस्थामा नेपालको स्वतन्त्र छवि र अस्तित्वलाई स्वीकार गर्नु नेपालका निम्ति गौरवको विषय भएको उहाँले बताउनुभयो । 
 
“राजकुमार ह्यारीको भ्रमणबाट नेपालप्रतिको बेलायतको सद्भाव प्रतिबिम्बित हुन्छ, यसले द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन योगदान गर्नेछ,” दुई देशबीचको दुईसय वर्षको सम्बन्ध र त्यस कालखण्डमा देखिएका उतारचढाव पनि विर्सन नहुने अभिमत प्रकट गर्दै थापाले भन्नुभयो । 
 
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी राजकुमार ह्यारीको यो भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्धले नयाँ उचाइ लिने र आपसी सहयोगका नयाँ क्षेत्रहरु पहिल्याउन त्यसबाट योगदान पुग्ने बताउनुहुन्छ । पारस्परिक सहयोग अभिवृद्धिबारे राजनीतिक तहमा छलफल हुने उहाँ बताउनुहुन्छ । 
 
पूर्वराजदूत डा दिनेश भट्टराई राजकुमारको तहमा हुन लागेको यो भ्रमणले नेपाल र बेलायतबीचको दुई शताब्दी पुरानो सम्बन्धलाई अझ सुमधुर, सुदृढ र बृहत् तुल्याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुहुन्छ । 
 
“बेलायतसँगको त्यति पुरानो सम्बन्धलाई हामीले राष्ट्रिय विकासका निम्ति पर्याप्त सहायता जुटाउन उपयोग गर्न सकेनौँ, अब त्यतातिर ध्यान जान जरुरी छ । साथै, हामीले बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउनेतर्फ विशेष पहल गर्नैपर्छ,” बेलायतबाट नेपाललाई निरन्तर प्राप्त हुँदै आएको सद्भाव, साथ, सहयोग र समर्थनका विविध पाटा र नेपालले गर्नुपर्ने कामबारे धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो । 
 
लामो समयदेखि लन्डनमा नेपाली राजदूत नहुनुलाई कमजोर कूटनीतिको संज्ञा दिँदै उहाँले अति महत्वपूर्ण मुलुकमा नेपाल प्रतिनिधिविहीन हुनुले राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने टिप्पणी गर्नुभयो । 
 
सहायताको खोजी र सम्बन्ध सुदृढीकरणका निम्ति सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको बेलायत भ्रमणले अद्यापि निरन्तरता पाइरहेको छ । सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारीले बेलायतको यात्रा गर्नुभएको थियो भने यसअवधिमा हालसम्म नेपालबाट ३५ वटा उच्चस्तरीय भ्रमण भएका छन् । 
 
महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुईपटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसक्नुभएको छ । गत वर्ष अगस्टमा अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री डेसमन्ड स्वायरले नेपालको भ्रमण गरेर आपसी मैत्रीलाई अझ मजबुत बनाउनुभएको छ । बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ