arrow

हेटौँडा अस्पतालमा दैनिक १०० बढी अक्सिजन सिलिन्डर खपत, स्टक शून्य

मन्त्रालय भन्छ, प्लान्ट निर्माणको गृहकार्यमा छौँ

logo
रवीन्द्र गौतम, 
प्रकाशित २०७८ वैशाख २५ शनिबार
hetauda-hospital.jpg
फाइल तस्बिर : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल

हेटौँडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा दैनिक १०० बढी अक्सिजनका सिलिन्डर खपत हुने गरेको छ। जिल्लामा कोरोना सङ्क्रमित दर बढ्दै जाँदा र अस्पतालमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै वृद्धि भएपछि दैनिक एक सयको हाराहारीमा ठुला सिलिन्डर सकिने गरेको अस्पतालमा कोभिड-१९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए।

‘दैनिक १० देखि १५ वटा सिलिन्डरले पुग्थ्यो तर अस्पतालमा आइसियु र एचडियुमा रहेका कोरोना सङ्क्रमित सबैलाई अक्सिजन दिएर राख्नु परेको छ’,  त्यसैले बढी बढी चाहिएको हो उनले भने।

अस्पतालमा दैनिक कोरोना सङ्क्रमित थपिँदै गइरहेका छन् भने अस्पतालमा बनाइएका आइसियु र एचडियु कक्ष लगभग भरिने अवस्थामा रहेका छन्। तर अक्सिजनको भने स्टक शून्य रहेको पाइएको छ।

कहिदिन अघिसम्म जिल्लामा पर्याप्त मात्रामा अक्सिजन छ भनिएता पनि अस्पतालका लागि स्टकमा एउटा पनि सिलिन्डर नरहेको बुझिएको छ।

अक्सिजन सकिएपछि रातारात जिल्ला प्रहरी कार्यालयको सहयोगमा गए राती बाराको परवानीपुरबाट केही सिलिन्डरहरू ल्याइएको छ। यसले अस्पतालमा अक्सिजन अपुग रहेको सङ्केत गरेको छ।

‘राति बाराबाट केही सिलिन्डर नल्याएको भए आजलाई अप्ठेरो पर्थ्यो हाललाई काम चल्यो’, डाक्टर काफ्लेले भने।

हाल हेटौँडा अस्पतालको १७ बेडको आइसियुमा ११ जना उपचाररत छन् २० बेडको एचडियुमा १८ जना कोरोना सङ्क्रमित उपचाररत छन् भने १४ बेडको स्टेप डाउन वार्डमा ७ जना रहेका छन्। यी बिरामी मध्य वार्ड बाहेकका सबैलाई अक्सिजनको सहारा दिएर उपचार गराइरहनु परेको छ।

तर अस्पतालमै अक्सिजनको अभाव हुने सङ्केत देखिदा प्रशासनको भने तयारी शून्य देखिएको छ।

‘गाउँपालिकाहरूमा पनि अक्सिजनको सिलिन्डर जान थालेपछि यहाँ अलि अपुग जस्तो देखिएको हो, म्यानेज भइरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईंले भने। ‘अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्ने भनी प्रक्रिया पनि अघि बढिसकेको छ, केही समय पछि यो समस्या हल हुन्छ’, उनले टेलिफोन कुराकानीमा भने।

उता बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईले भने आवश्यकता परेको खण्डमा आफूहरू सँग अन्य सिलिन्डर पनि रहेको र अन्य जिल्लाबाट भए पनि मोभिलाइज गर्ने बत्ताउँछन्। हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए।

‘प्लान्ट स्थापनाको लागि खरिद प्रक्रिया पनि अघि बढेको छ, आइतबार भोलि नै टेन्डर प्रक्रिया सुरु गर्ने तयारी छ, अब चाडै नै काम सुरु हुन्छ’, उनले भने।

प्लान्ट स्थापना गर्ने तयारी त एकातिर हुन्छ नै, अस्पतालमै अक्सिजनको अभाव भयो भने अर्को ठुलो समस्या उब्जिन्छ। त्यसैले बेलैमा यसतर्फ सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ