arrow

सांसद वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
Narotham baidhya.jpg

काठमाडौं । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विहान एक वक्तब्य जारी गर्दै  विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ ।’

प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न पनि पार्टीले भनेको छ ।

‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन । पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’

वागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले सांसद वैद्यको अभिव्यक्तिले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् । 

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ‘नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। गोड्सेले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ