arrow

प्रदेश सांसद नरोत्तम वैद्यले माफी मागे, अभिव्यक्ति गलत रहेको स्वीकार 

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ जेठ २९ शनिबार
narothham-final.jpg

हेटौंडा । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको घोषणा गरेका छन् ।

शनिबार प्रदेश सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय मागेर वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग व्यक्तिगत रुपमा कुनै रिसइवी नभएको भन्दै उनले भावावेशमा आएर अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् । उनले अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका हुन् ।

‘आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै शुक्रबारको अभिव्यक्ति फिर्ता लिएको छु’ उनले भने ।

बैद्यले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् । लगतै सभामुख सानु कुमार श्रेष्ठले हिजो उनले दिएको अभिव्यक्ति हटाउन निर्देशन दिएका छन् । 

शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्रीविरुद्ध गोड्से बन्न तयार हुनुपर्ने भनेका थिए । काठमाडौं क्षेत्र नं.४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् ।

बैद्यले शुक्रबार बोल्ने क्रममा प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए । ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ’, उनले अगाडि भनेका छन्, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ