खरिदारदेखि सह-सचिवसम्मका परीक्षा साउन १५ बाट शुरु हुँदै
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
1.9k
Shares
काठमाडौं। कोरोना महामारीको कारण रोकिएका खरिदारदेखि सहसचिवसम्मको परीक्षा लोकसेवा आयोगले साउन १५बाट सुरु गर्ने भएको छ ।
रोकिएका सबै तहको परीक्षा साउन १५बाट सुरु हुन लागेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुबेदीले बताए । उनका अनुसार सरकारी संस्थानकोलागि रोकिएको परीक्षा पनि साउन १५बाटै सुरु हुनेभएको हो।
खरिदारदेखि सहसचिवसम्म तथा सरकारी संस्थानहरूलागि करिब १ हजार ५सय सिटको हाराहारीमा साउन १५बाट परिक्षा सुरु गर्न लागिएको सुबेदीले बताए ।
आयोगका अनुसार कोरोना महामारीको कारण लिखित र मौखिक दुबै किसिमका परिक्षा रोकिएका थिए । अब पहिलो चरणमा लिखित परिक्षा हुने र त्यसपछि मौखिक परिक्षा हुने आयोगले जनाएको छ ।
आयोगले हरेक वर्ष असोज महिनाको अन्तिम बुधबारदेखि हरेक महिना अन्तिम बुधबार विज्ञापन खुलाउने गर्छ । यो क्रम चैत महिनाको अन्तिम बुधबारसम्म जारी रहन्छ । आयोगले सुरुमा खरिदार पदमा विज्ञापन खुलाउने गर्छ ।
निजामती सेवा ऐन २०४९ अनुसार आयोगले विज्ञापन खुलाउने गरेको छ । निजामती सेवा ऐन २०४९लाई विस्थापन गर्न ल्याउन लागिएको संघीय निजामती सेवा ऐनमा भने खरिदार पदलाई खारेज गरिएको छ ।
संघीय निजामती सेवा ऐन लागु भएमा आयोगले खरिदार पदमा विज्ञापन खुलाउने छैन । त्यसैले खरिदार पदकोलागि विज्ञापन खुलाउने सम्भवत यो अन्तिम पटक भएको आयोगका एक कर्मचारीको भनाइ छ ।
आयोगले विज्ञापन खुलाउनु अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदहरुको विवरण आयोगमा पठाउने गर्छ । मन्त्रालयले पठाएको सूचिको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ । कोरोनाको महामारीको कारण आयोगले पोहोर साल पनि लिखित र मौखिक परिक्षा रोकेको थिए । रोकिएको परिक्षा निषेधाज्ञा हटे पछि सुरु गरिएको थियो ।