arrow

काठमाडौं उपत्यका छिर्ने नाकामा यात्रुको बिचल्ली, लुकीछिपी आएका गाडीहरुको मनपरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
Thankot-road.jpg

काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले देशव्यापी निषेधाज्ञा खुकुलो बनाएसँगै काठमाडौं उपत्यका भित्रिने यात्रुको चाप बढ्दै गएको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै जाँदा बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने विद्यार्थी, व्यवसायी र सर्वसारधणको संख्या बढ्दै गएको दृश्य थानकोट नाकामा देख्न सकिन्छ ।

खासगरी काठमाडौं उपत्यकाका पसलहरु दिनभरी खुल्न थालेका छन् । प्राइभेट र सार्वजनिक यातायात जोरबिजोर गरेर सञ्चालनमा आइसकेका छन् । विरामी बोकेका, खाद्यान्न र आपतकालिन स्थितीका गाडीहरुलाई थानकोट नाकाबाट काठमाडौं प्रवेश दिइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै विश्वविद्यालय, लोकसेवा आयोग एवं शिक्षक सेवा आयोगले समेत परीक्षा मिति तय गरिसकेको अवस्था छ । जसका लागि विद्यार्थीहरु काठमाडौं आउन थालेका छन् ।

तर बाहिरि जिल्लाबाट भने लामोदुरीका बसहरुले यात्रु ल्याएर नागढुंगा चेकपोष्ट भन्दा पर झ्याप्ले खोला भन्ने ठाउँमा छोड्न थालेको पाइएको छ । खासगरी मुग्लीनको बाटो हुँदै काठमाडौं भित्रिने लामो दुरीका बसहरुले यात्रु ल्याएर आधा बाटोमा छोड्दा यात्रुहरु अलपत्र पर्न थालेका छन् ।

गाडीहरुले झ्याप्ले खोलामा क्षेत्रमा बसपार्क जस्तै बनाएको पाइएको छ । परीक्षा मिति तय गर्दा पढ्नकै लागि भए पनि विद्यार्थीहरु काठमाडौं उपत्यका छिर्ने पर्ने बाध्यतामा छन् भने काम विशेषले काठमाडौं आउनैपर्ने बाध्यताका यात्रुहरु पनि प्रशस्त छन् ।

त्यस्तै निषेधाज्ञा खुकुलो हुँदै जाँदा सानोतिनो व्यावसाय गर्नेहरु पनि उपत्यका आइरहेका छन् । तर सरकारले लामो दूरीका यात्रुवाहक गाडीहरुलाई अनुमति नदिएपनि विभिन्न जिल्लाबाट लुकीछिपी तरिकाले आएका सर्वसाधरणलाई भने सास्ती भोग्नु परेको छ ।

यस बिषयमा थानकोट प्रहरी चेकपोष्टमा बुझ्दा गाडीहरु आएर झ्याप्ले खोला क्षेत्रमा यात्रु छाड्ने गरेको पाइएको छ । केही यात्रुहरुलाई बाध्यतामा चेकपोष्टबाटै भित्रिन दिने गरिएको छ । केही यात्रुहरु बाटो छलेर भित्रिने गरेको र कतिपय यात्रुहरु काठमाडौं छिर्न दिएका गाडीहरुसँग लिफ्ट मागेर भित्रन लागेको चेकपोष्टमा खटिएका प्रहरीहरुले बताउने गरेका छन् ।

यता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस बिषयमा छलफल भइरहेको र अनुगमन गरेर थप जानकारी गराइने बताए । लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालयले परीक्षा मिति तय गर्दा काठमाडौं छिर्न खोजिरहेका यात्रुहरुका विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

लामो दूरीका यात्रुवाहक गाडीलाई अनुमति दिने या नदिने भन्नेबारेमा केही दिन गाडीहरुको तथ्यांक हेरेर त्यसै अनुसार कडाई गर्ने या खुकुलो पार्ने भन्ने निष्कर्षमा पुगिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । तर सरकारकै स्थानीय, केन्द्रीय र अन्य पक्षबीच  समन्वय हुन नसक्दा काठमाडौं उपत्यका छिर्ने नाकामा सर्वसाधरणले सास्ती भोग्नु परेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ वटै जिल्लामा निषेधाज्ञा भएको थियो । यद्यपी, गत साता यता संक्रमण कम भएको देखिँदै जाँदा सरकारले निषेधाज्ञा खुकुलो गर्दै  गएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ