- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टीका दुबै समूहले निर्वाचन आयोगलाई कानुन अनुसार नै विवादको छिनोफानो गर्न भनेका छन् ।
जसपाका दुबै समूहसँग विवादबारे आयोगले राजनीतिक दल सम्वन्धि ऐनको दफा ४४ को ५ अनुसार आज मंगलबार सहमतिको प्रयास गरेको थियो ।
तर आयोग पुगेका जसपाका दुबै पक्षका नेताहरुले सहमतिमा अघि बढ्ने कुनै सम्भावना नरहेको भन्दै कानुन अनुसार अघि बढेर निर्णय लिन आयोगलाई आग्रह गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अब आयोगले जसपा विवादबारे छिनोफानो गर्न कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिए ।
‘आयोगले सहमतीको प्रयास गरेको हो, तर सकेन, आयोगले अब जसपाको विवाद टुंगो लगाउन कानुन अनुसार प्रक्रिया अघि बढाउँछ,’ आयोगका प्रवक्ता श्रेष्ठले हाम्राकुरासँग भने । यसरी आयोगले प्रक्रिया अघि बढाउदा विवाद समाधानका लागि प्रमुख आयुक्तको नेतृत्वमा इजलास गठन गर्ने तयारी आयोगले गरेको छ ।
इजलासमा कतिजना आयुक्त बस्ने भन्ने विषयमा आयोगले टुंगो लगाउने र छिटै इजलास गठन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सहमतिका पक्षमा दुबै पक्ष सहमत नभएपछि आयोगले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ को उपदफा २ बमोजिम प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहने इजलास गठन गर्ने छ ।
यसरी गठन हुने इजलासले विवाद निरुपणका लागि दुबै पक्षसँग सुनुवाइ गर्ने छ । सुनुवाइका लागि जसपाका दुबै समुहले आआफ्ना कानुनी सहयोगीहरुसमेत राख्न चाहेमा राख्न सक्नेछन् । यसरी सुनुवाइमार्फत हुने छिनोफानो पुनरावेदन अदालतले गरेको निर्णय बराबर हुने आयोगले जनाएको छ ।
जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले आआफ्नै समूह आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् ।
यादव पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो । त्यसपछि आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ माग गरेको थियो । आयोगको सो पत्रपछि ठाकुर पक्षले जवाफ पठाएको थियो भने त्यसपछि आयोगले विवाद मिलाउने प्रयास स्वरुप सहमतीका लागि आज दुबै समुहलाई आयोग बोलाएको थियो ।