arrow

निषेधाज्ञा खुकुलो: सावधानी नअपनाए सङ्क्रमण भयावह हुनसक्ने सङ्केत !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । यति बेला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण बढ्यो भन्ने समाचारहरू आउन थालेका छन् । तर, रोचक कुरा कोरोना भाइरसको सङ्क्रमण दर २० प्रतिशत भन्दा तल झरैकै देखिँदैन ।

४५ प्रतिशतसम्म पुगेको कोरोना भाइरसको सङ्क्रमण दर निषेधाज्ञा लागु भएकै बेला पनि २० प्रतिशतको हाराहारीमा रहेको थियो । अब, निषेधाज्ञा खुकुलो भएसँगै सावधानी नअपनाएमा सङ्क्रमण पुरानै भयावह स्थितिमा पुग्ने देखिएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो या बढेन भनेर हामीले निषेधाज्ञा खुकुलो भएका दुई साता र निषेधाज्ञा कडाइरुपमा रहेका दुईको साताको अवस्था विश्लेषण गरेका छौं ।

निषेधाज्ञा खुकुलो भएको पहिलो साता

असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका थिए । असार ८ देखि असार १४ गतेसम्म ७ दिनको अवधिमा पीसीआर र एन्टीजेन गरी ८६ हजार ८ सय ९६ जनाको नमुना परीक्षण गरिएको थियो ।

८६ हजार ८ सय ९६ मध्ये १८ हजार २ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो भएको पहिलो साता अर्थात् असार ८ देखि १४ गतेसम्ममा सङ्क्रमण दर २१.०२ प्रतिशत रहेको देखियो ।

निषेधाज्ञा कडाइका साथ लागु भएको साता

निषेधाज्ञा खुकुलो हनुअघिको एक साता अर्थात् असार १ गतेदेखि असार ७ गतेसम्म ८५ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गरिएको थियो ।

 ८५ हजार ३ सय ५९ मध्ये १८ हजार ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो हुनअघिको एक साता अर्थात् असार १ देखि ७ गतेसम्ममा सङ्क्रमण दर २१.१९ प्रतिशत देखियो ।

निषेधाज्ञा खुकुलो भएको दोस्रो साता

निषेधाज्ञा खुकुलो भएको दोस्रो साता अर्थात् असार १५ देखि सार्वजनिक सवारी साधन समेत जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका थिए ।

निषेधाज्ञा खुकुलो भएको दोस्रो साता अर्थात् असार १५ देखि २१ गतेसम्म पीसीआर र एन्टीजेन गरी ७४ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गरिएको थियो ।

७४ हजार ६ सय ८९ मध्ये १७ हजार १ सय ४० जनामा सङ्क्रमण पुष्टि  भएको थियो । निषेधाज्ञा खुकुलो भएको दोस्रो साता अर्थात् असार १५ देखि २१ गतेसम्मको अवधिमा सङ्क्रमण दर २२.९४ प्रतिशत रहेको देखियो ।

निषेधाज्ञा कडाइका साथ लागु भएको अघिल्लो साता

यस्तै निषेधाज्ञा खुकुलो हुनु अघिको अर्को साता अर्थात् जेठ २५ देखि जेठ ३१ गतेसम्ममा १ लाख ६ हजार ४ सय ९० जनाको नमुना परीक्षण गरिएको थियो । 

१ लाख ६ हजार ४ सय ९० मध्ये २५ हजार ७सय ५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो हनुअघिको दोस्रो सातामा सङ्क्रमण दर २४.१३ प्रतिशत देखियो ।

निषेधाज्ञा खुकुलो भएका दुई साता र कडाइ भएका दुई साता

निषेधाज्ञा खुकुलो भएका दुई साता अर्थात् जेठ ८ देखि जेठ २१ गतेसम्ममा सङ्क्रमण दर २१.९१ प्रतिशत देखिएको छ ।

उता निषेधाज्ञामा कडाइ भएका दुई साता अर्थात् जेठ २५ देखि असार ७ गतेसम्ममा सङ्क्रमण दर २२.८२ प्रतिशत देखिएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि, बिशेषगरी दुई/तीन दिन यता मानिसहरूको चहलपहल बढ्न थालेको छ । यो चहलपहल असुरक्षित साबित भएमा अबका, साता सङ्क्रमण दरले गति लिने देखिन्छ ।

सङ्क्रमण घटेकै थिएन फेरि बढ्यो

सरकारले निषेधाज्ञा खुकुलो गरे पनि कोरोना भाइरसको सङ्क्रमण दर २० प्रतिशत भन्दा कम पुगेको छैन । खासमा सङ्क्रमण दर कम भयो भन्नका लागि ५ प्रतिशत भन्दा तल झर्नुपर्ने हुन्छ ।

अहिले अस्पताल भर्ना हुन  आउनेको सङ्ख्या बढ्न थालेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)का उपनिर्देशक डा. सन्तकुमार दासले बताए ।

टिचिङ अस्पतालमा अहिले दैनिक १० देखि १२ जना भर्नाका लागि आउन लागेको डा. दासले बताए । अस्पतालमा उपचाररत सङ्क्रमितको सङ्ख्या ८५ नाघिसकेको छ ।

निषेधाज्ञा खुकुलो भए पनि सङ्क्रमण उच्च बिन्दुमा नै रहेको उनको भनाइ छ ।

यस्तै, सङ्क्रमण दर उच्च बिन्दुमा नै रहेको र सावधानी नअपनाए अब, झन् बढ्न सक्ने सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. प्रवीण नेपालको भनाइ छ ।

सशस्त्र प्रहरी अस्पतालमा समेत अहिले सङ्क्रमित भई भर्ना हुनेकाे सङ्ख्या बढिरहेको  उनले बताए । दैनिक नयाँ सङ्क्रमित थपिँदै गइरहेका बेला हाल सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या ७० नाघेको छ ।

पहिलो लहरमा सङ्क्रमण घटेर निषेधाज्ञा खुकुलो गरेका बेला अस्पतालमा २ जना सङ्क्रमित मात्रै रहेका थिए । तर, दोस्रो लहरमा घटीमा ४८ सङ्क्रमित उपचाररत रहेका बेलादेखि पछिल्लो साता यता सङ्क्रमित बढ्दै भर्ना हुनेकाे सङ्ख्या ७० नाघेको उनले बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै सुरक्षाका उपाय अपनाउनबाट समेत सर्वसाधारणले गल्ती गरेमा फेरि सङ्क्रमणले चर्को रूपले डा. नेपालको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ