- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले केही संवेदनशील संस्थानहरु सरकारले नै संचालन गर्नुपर्ने धारणा राखेका छन् । नेता थापाले सोमबार जनक स्वतन्त्र कर्मचारी संघको छैठौं महाधिवेशनको उद्घाटन समारोहमा यस्तो विचार राखेका हुन् ।
०४६ सालको परिवर्तनपछि सरकारले केही घाटामा गएको उद्योग नीजिकरण गर्दा केहीले गलत प्रचार गरे पनि राजस्वलगायत धेरै नीजि क्षेत्रका विभिन्न उद्योग र कम्पनीको आगमनले नागरिकलाई सेवा सुविधामा सहज भएको बताए ।
थापाले विभिन्न कम्पनी एवं उद्योग सरकारले चलाउने नभए पनि जनक शिक्षा सामग्री केन्द्र, वायु सेवा निगम जस्ता केही संस्थानहरु सरकारले नै संचालन गर्नुपर्ने तर पार्टीको कार्यकर्ता भर्ति केन्द्र नबनाई व्यवस्थित एवं समय सापेक्ष ढंगले संचालन गर्नुपर्ने बताएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले ट्रेड युनियनले अनुकुल मन्त्री, कार्यकारी प्रमुख खोज्ने नभई श्रमिक कर्मचारीको हकहित संरक्षण र संस्थाको उपादकत्व वृद्धिलाई प्रमुख मुद्दा बनाउनुपर्ने बताए ।
महासचिव कुँवरले श्रमिक कर्मचारीलाई उत्प्रेरित गर्न सके मात्र कुनै पनि संस्थाको विकास, प्रगति एवं उत्पादकत्व वृद्धि हुने बताए । केन्द्रीय सदस्य बलदेव तामाङले जुनसुकै सरकारले नियुक्ति गरेका व्यवस्थापक भए पनि निष्पक्ष रूपमा ट्रेड युनियनले उठाएका श्रमिकका जायज मुद्दाहरू सम्बोधन गर्दै युनियन र व्यवस्थापनबीच छलफल एवं संवाद गरी अगाडी बढे मात्र कम्पनीको उत्पादकत्व वृद्धि हुने बताए ।
जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्धक अनिल कुमार झाले ट्रेड युनियन र व्यवस्थापक मिलेर काम गरे मात्र संस्थाले प्रगति गर्न सक्ने उल्लेख गर्नु हुँदै विनियमवाली संशोधन गरेर भएपनि कर्मचारीको वृद्धि विकास गर्न आफु लाग्ने बताए ।
कार्यक्रममा नेपाल छापाखाना श्रमिक संघका अध्यक्ष सुवर्ण सिजापति, नेपाल सार्वजनिक संस्था कर्मचारी संघका उपाध्यक्ष उर्मिला लम्साल , ट्रेड युनियन कांग्रेस भक्तपुरका अध्यक्ष विष्णु खडका, जनक स्वतन्त्र कर्मचारी संघका पुर्व अध्यक्ष रामविनय श्रेष्ठ लगायतका ट्रेड युनियन नेतृत्वहरुले श्रमिक धेरै समस्या र पीडामा रहेकाले श्रमिक कर्मचारीको वृद्धि विकासमा ध्यान दिनसके संस्थाको उत्पादकत्व वृद्धि हुने ठोकुवा गरे ।
सोमबार र मंगलबार दुई दिन चल्ने संघको महाधिवेशनले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । कार्यक्रम जनक स्वतन्त्र कर्मचारी संघका अध्यक्ष कृष्ण सुन्दर प्रजापतिको अध्यक्षयतामा सम्पन्न भएको थियो ।