- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको सङ्ख्या २६० पुर्याउँदै नाम र विवरण अद्यावधिक गरिदिन निर्वाचन आयोगमा पत्र पठाएको छ । एमालेले मङ्गलवार पार्टीको निर्णयसहित केन्द्रीय कमिटीको सङ्ख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्रसहितको विवरण पठाएको हो ।
पार्टीको बैठकको निर्णयसहितको पत्र लिएर आयोगमा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहाल पुगेका थिए ।
२ जेठ २०७५ अघि २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको एमालेको विवरण आयोगमा कायम छ । सो सङ्ख्यामा थप भएकासहित २६० रहने गरी पार्टीको निर्णय निर्वाचन आयोगमा पठाइएको हो ।
पहिले कायम २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ । त्यसपछि नेकपा विभाजन भएपछि थप भएकासहित एमालेको २६० सदस्सीय केन्द्रीय कमिटीलाई सर्वोच्चलेसमेत मान्यता दिइसकेको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत सङ्ख्या भए पुग्ने गरी दल विभाजन अध्यादेश ल्याउने निर्णय गरेसँगै एमालेले आफ्ना केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिकका लागि आयोगमा पत्र पठाएको हो ।
एमालेले अध्यादेश ल्याउने सरकारको तयारी थाहापाएदेखि नै विरोध गर्दै आइरहेको थियो ।