- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू प्रचण्डपछिको नेता भएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट हट्ने भएका छन् । गठबन्धन सरकारमा मन्त्रिपरिषद गठन भएदेखिनै प्रचण्डसँग असन्तुष्ट रहेका श्रेष्ठले आइतबारको बैठकमा अचानक प्रवक्ताको जिम्मेवारीबाट हट्ने बताएका हुन् ।
पहिला पार्टी ठूलो हुँदा नै प्रवक्ताको जिम्मेवारीमा रहेको र अहिले माओवादीभित्र प्रचण्डपछिको नेता भएकाले अबको जिम्मेवारी पार्टी प्रवक्ता भन्दामाथि हुनुपर्ने श्रेष्ठको दाबी छ । ‘आफ्नै नेतृत्वमा सरकारमा जान चाहेका श्रेष्ठलाई प्रचण्डले मन्त्रीमा नपठाएपछि चिढिएका थिए । आजको बैठकमा प्रवक्ता छाड्छु भने’, बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार श्रेष्ठले शशी श्रेष्ठलगायत आफू निकटका नेतालाई सरकारमा पठाउन चाहिरहेका थिए । तर प्रचण्डले माधव नेपालको पार्टीको टुंगो नलागेसम्म सरकारमा पठाउने मन्त्रीबारे अहिले नटुंग्याउने बताएका थिए ।
त्यसपछि श्रेष्ठले आफ्नो जिम्मेवारी परिवर्तन हुनुपर्ने कुरा उठाएका थिए । ‘उहाँले जिम्मेवारी परिवर्तनको कुरा गरेपछि प्रचण्डले यो विषय पनि आगामी बैठकमा छलफल गर्दै गरौला भनेर पन्छाएका थिए’, बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यले भने । यसअघि माओवादीमा पम्फा भुसाल प्रवक्ता भए पनि नेकपा भएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
नेकपा माओवादीले संगठन सुदृढिकरण गर्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई जिम्मेवारी दिने गरी भएको बैठकमा मन्त्रिपरिषदमा पठाउने नेताहरुको बारेमा छलफल गर्न पनि नेता श्रेष्ठको आग्रह थियो । तर प्रचण्डले माधव नेपालको पार्टी पनि सरकारमा जाने भएकाले केही दिनपछि निर्णय गर्ने भनेर टारेका थिए । आइतबार बसेको बैठकले नेताहरूको कार्य विभाजन, तथा आगामी ११, १२ र १३ पुसमा आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयलाई पनि टुंग्याएको थियो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले छ प्रदेशमा इन्चार्ज तोकेको छ । प्रदेश एक बाहेक अरु सबै प्रदेशमा इन्चार्ज तोकेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार प्रदेश २ मा गणेश साह, वागमती प्रदेशमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।
यस्तै बैठकले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज पनि तोकेको छ । दुई दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
११, १२ र १३ पुसमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरू निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि बैठकमा एजेन्डा रहेको थियो ।