- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले ‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ बुधबार दर्ता प्रक्रियाका लागि प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुग्ने क्रम शुरु भएको छ ।
आयोगले केही बेरमा नै प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरुको हेड काउन्ट गर्दै सनाखतको तयारी गरिरहेको छ । टुरिष्ट बस चढेर परिचय पत्रसहित आयोग पुगेका उनीहरुको केहीबेरमै सनाखत शुरु गरिने आयोगका सहप्रवक्ता कोमल धमलाले जानकारी दिए ।
आयोगले माधव नेपाल र महन्थ ठाकुरको नेतृत्वमा रहने गरी दर्ताका लागि दिएको निवेदनमा बुधबार पहिले आवश्यक प्रक्रियाका काम सकेर दर्ताको निर्णय गर्ने गरी तयारी गरेको हो । आयोगले त्यसका लागि आन्तरिक सबै तयारी सकेको छ ।
आयोगले दुवै दलका पदाधिकारीमा प्रस्ताव गरिएकासहित केन्द्रीय सदस्यका लागि पुराना दलबाट प्रस्ताव गरिएका नाममा हस्ताक्षर गरेका, पहिले पुराना दलमा रहेका संसदीय दलका सदस्य (नयाँ दलमा आउन हस्ताक्षर गरेका) लाई बुधबार ११ वजेदेखि २ वजेसम्म सनाखतका लागि बोलाएको हो ।
आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै सकेर दल दर्ताको निर्णय गर्ने गरी तयारी गरेको छ । ‘सचिवालयले सबै तयारी गरिसकेको छ, दल दर्ताको काम अघि बढिसक्यो, पहिले सनाखत सक्छौं, त्यसपछि आज बुधबार नै दर्ताको निर्णय गर्छौं’ आयोग उच्च स्रोतले भन्यो ।
आयोगले नयाँ दल दर्ताको प्रक्रियामा सहभागी हुन हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा बोलाएको हो । प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा आउन भनेको थियो ।
माधव नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । सनाखत प्रक्रियामा पनि उनीहरुनै सहभागी हुँदैछन्।