- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोभिड-१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न भारत सरकारले नेपाल सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बिच नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्टको हस्तान्तरण गरेका हुन् ।
९६० एलपीएम क्षमताको सो मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । यस हिसाबले यस अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्दछ ।
सो समारोहमा भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड-१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रूपमा रहेको बताए ।
मन्त्री उमेश श्रेष्ठले उपहार स्वरूप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रूपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड-१९ महामारी विरुद्धको लडाइमा थप बल पुग्ने उल्लेख गरे । धरानमा बीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोषे ढुङ्गा भएको चर्चा गर्दै उनले बिहीबार हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषे ढुङ्गा भएको उल्लेख गर्दै सो सहयोगबाट विशेष गरी प्रदेश नं १ र २ का जनता लाभान्वित हुने बताए ।