बागमतीमा विपक्षी गठबन्धनले सरकार बनाउने निश्चित, मुख्यमन्त्री शाक्य अल्पमतमा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
1.6k
Shares
फाइल तस्विर।
काठमाडौं। बागमती प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने छनक देखिएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला गर्दै मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।
तर अहिले भने बदलिएको राजनीतिक कोर्ससँगै माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई रोज्दै मङ्गलवार मात्रै बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडामा एमालेका १२ प्रदेश सभा सदस्यले सनाखत गराएका छन् ।
उनीहरू नेपालले नेतृत्व गरेको दलमा लाग्दा मुख्यमन्त्री शाक्यको पद धरापमा पर्ने निश्चित छ । संविधान अनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ । त्यस्तो अवस्थामा उनलाई सो पद जोगाउन मुस्किल हुने अब पक्का जस्तै छ । उनलाई प्रदेशमा सरकार जोगाउनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । त्यसमध्ये १२ जना नेपाल नेतृत्वको दल नेकपा एसमा खुल्दा एमालेमा ४४ जना बाँकी रहन्छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आबद्ध सांसदहरूको सङ्ख्या बढी हुने देखिन्छ ।
बागमती प्रदेशमा नेकपा माओवादी २३, कांग्रेस २२ नेकपा (एकीकृत समाजवादी) १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २ विवेकशील साझा ३ स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् ।
नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको सङ्ख्या भने निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्छ ।