arrow

बागमतीमा को बन्छ मुख्यमन्त्री ? केन्द्रमा छलफल चल्दै

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १६ बुधबार
bagmati-cm-canided.jpg
इन्द्र बानियाँ र राजेन्द्र पाण्डे

हेटौँडा । नेकपा एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकार अहिले अल्पमतमा छ । एमाले फुटेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेकी छिन् ।

एमालेका १२ जना सांसदले हिजो मङ्गलवार माधव नेपाल समूहको नयाँ दल नेकपा एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । अब ढिलो चाँडो गठबन्धनको तर्फबाट नयाँ सरकार बन्ने निश्चित भैसकेको छ । बागमतीमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एस मध्यबाट को मुख्यमन्त्री बन्ने र के कसरी सहमतिको सरकार गठन गर्ने भन्ने बारे केन्द्रमा छलफल चलिरहेको छ ।

अबको मुख्यमन्त्रीमा नेपाली काँग्रेसबाट इन्द्र बानियाँले पनि दाबी गरिरहेका छन् भने नेकपा एसका तर्फबाट प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पनि मुख्यमन्त्रीका लागि दाबी गरेका छन् ।

गठबन्धनका तर्फबाट सातै प्रदेशमा सहमति र सहकार्यका साथ मिलेर सरकार निर्माण गर्ने र अघि बढ्ने विषयमा केन्द्रमा छलफल भइरहेको काँग्रेसका बागमती प्रदेशसभा सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिएका छन् ।

'मुख्यमन्त्रीका लागि काँग्रेसको दाबी हो तर अन्य प्रदेशमा हेरेर कसरी सहकार्य सहमति हुन्छ त्यसैमा मिलेर जाने सोचमा छौँ', उनले हाम्रा कुरा सँग भने ।

उनले प्रदेश १ र बागमती मध्ये कुनै एकमा काँग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए । 'केन्द्रमा छलफल भइरहेको छ १ नम्बर प्रदेशमा काँग्रेसको नेतृत्व भयो भने यहाँ हामी अन्य दललाई साथ दिन्छौँ, त्यहाँ अन्य दलबाट मुख्यमन्त्री हुनुहुने भयो भने यहाँ हाम्रो नेतृत्वको सरकार हुनेछ', उनले भने ।

उता एमालेबाट फुटेर बनेको नेकपा एसका राजेन्द्र पाण्डे प्रदेशमा आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् । बागमतीमा त माओवादी पछि काँग्रेस हो नि त ठुलो दल तपाईँले दाबी गरेर मात्र हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'अहिले हामी गठबन्धनमा छौ सबै प्रदेशमा मिलाएर सरकार गठन गर्ने भन्ने हाम्रो सोच हो, त्यसैले माओवादीले ३ वटा प्रदेशको नेतृत्व गरेको छ, एउटामा काँग्रेस छ त्यसैले प्रदेश १ मा र यहाँ सहमतिका साथ सरकार गठन हुन्छ', ।

उता बागमतीका एमाले पछिको सबैभन्दा ठुलो दल माओवादी केन्द्रको पनि दाबी रहेको बताइएको छ । तर काँग्रेस र नेकपा एसले जस्तो खुलेर मुख्यमन्त्रीका लागि दाबी भने गरिएको छैन । अन्य प्रदेशमा माओवादी नेतृत्वको सरकार गठन भएकाले बागमतीमा अन्य दललाई नै मुख्यमन्त्री दिनेमा आनाकानी नहुने बुझिएको छ ।

यसरी २ दलको कुरा हेर्दा प्रदेश १ र बागमतीमा काँग्रेस र नेकपा एकीकृत समाजवादी मध्ये एक एकको नेतृत्वमा सरकार गठन हुने पक्कापक्की भएको छ ।

बागमतीमा हाल १ सय ९ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ५५ सांसद आवश्यक हुन्छ । यस अघि एमाले एक्लैको ५६ जना सांसद थिए । त्यहाँबाट १२ जना सांसद निस्किएर नेकपा एसमा गएका छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २-२ जना र एक स्वतन्त्र सांसद छन् । अब काँग्रेस,माओवादी र नेकपा एस गरी ५७ जनाको सांसद गठबन्धन हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ