- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई एउटै समूहमा उभ्याउन चाहेको बताएका छन् ।
महाधिवेशनका सन्दर्भमा रहेर हाम्रा कुराले शुक्रवार गरेको संवादमा थापाले यसअघि आफू नेता सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेको र अहिले पनि दुवै समूहलाई मिलाउने गरी अघि बढेको बताए ।
‘म १३औँ महाधिवेशनमा कृष्ण दाइको टिममा रहेर महामन्त्रीको उम्मेदवार बने, अहिले उहाँसहितको एउटै टिम बनाएर वरिष्ठ नेता पौडेल र सिटौला दाइ सहितको टिम बनाउन लागिरहेको छु,’ थापाले भने । उनले आफ्नो यो प्रयास एकै पटक नभई विगत दुई तीन वर्षदेखि कै भएको समेत बताए ।
‘मैले यो सहकार्यको वातावरण विगतदेखि नै होस् भन्ने सोचेर अघि बढ्दै आएको हुँ, वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा शेखर कोइराला मात्रै होइन सिटौला दाइ पनि एउटै टिममा रहेर अघि बढ्नु पर्छ भनेर म लागेको छु,’ नेता थापाले अघि भने ।
उनले बिहीबार आयोजित पौडेल समूहको पत्रकार सम्मेलनपछि समेत सभापतिमा आकाङ्क्षी रहेका उपस्थित सबै नेताहरूलाई सोही विषयमा प्रष्टताका साथ सो विषयमा भनेको बताए ।
आफ्नो उम्मेदवारीका सन्दर्भमा भने थापाले अग्रजहरूका माझबाट नै आफूले उम्मेदवारी घोषणा गरेको बताए । थापाले आफ्नै निर्वाचन क्षेत्रबाट आगामी १४औँ महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।