- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विभिन्न जिल्लाहरूमा फैलिएका १४ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र १ सय ३ स्वास्थ्य क्षेत्रका परियोजनाहरूका लागि भारत र नेपालले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
भारतीय दूतावासले शुक्रवार जारी गरेको एक विज्ञप्ति अनुसार यी परियोजनाहरू भूकम्पपछिको पुनर्निर्माण प्याकेज अन्तर्गत कार्यान्वयन गरिनेछ। भारत सरकारले २५ करोड अमेरिकी डलर बराबरको योजना घोषणा गरेको छ। जसमध्ये ५ करोड अमेरिकी डलर शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्य क्षेत्र को लागी छुटाइएको छ भने १० करोड अमेरिकी डलर आवास क्षेत्र को लागी छुटाइएको छ।
भारत सरकारको अनुदान सहयोगमा कुल ७१ वटा शिक्षा क्षेत्र परियोजनाहरू, ७ वटा जिल्लाहरूमा २८ सांस्कृतिक सम्पदा क्षेत्र परियोजनाहरू, १० वटा जिल्लाहरूमा १ सय ४७ वटा स्वास्थ्य सुविधाहरू र गोरखा र नुवाकोटमा ५० हजार घरहरूको निर्माण कार्य भइरहेको छ।
नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा क्षेत्रका पुनर्निर्माण गरिनेछ। त्यस्तै ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेमा १ सय ३ स्वास्थ्य क्षेत्रका परियोजनाहरू कार्यान्वयन गरिनेछ।
प्रथम सचिव (विकास साझेदारी र पुनर्निर्माण) र सीएलपीआईयू (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।
उक्त कार्यक्रममा भारतीय दूतावास, केन्द्रीय स्तर परियोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरू र भारत सरकारका परियोजना सल्लाहकारहरू इनटाक र सिबिआरआई का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।