arrow

एमालेमा उमेरहद बहस 

केपी ओली पाँच महिनापछि ७० वर्ष पुग्ने, ज्येष्ठ कम्युनिष्ट मञ्चतिर लाग्दै वा विधान फेर्दै ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
kp-oli-standing-committee-meet.jpg
तस्वीर–फाइल ।

काठमाडौं । एमालेको विधान अधिवेशन नजिकिदै गर्दा ७० वर्षे उमेरहदको बहस कार्यकर्ता तहमा पुगेको छ । ७० वर्ष उमेर पुगेका झलनाथ खनाल, वामदेव गौतम, अमृत बोहोरा लगायतका नेताहरु बाहिरिएपछि आगामी फागुनमा केपी शर्मा ओली पनि ७० वर्ष पुग्ने भएकाले त्यसको बहस कार्यकर्ता तहमा पुगेको हो । 

एमालेको विधान कार्यान्वयन भएमा मंसिरमा हुने भनिएको महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए पनि फागुनपछि उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने देखिएको छ । एमालेको नवौँ महाधिवेशनले पार्टीको कार्यकारी पदमा बस्ने ७० वर्षको उमेर हद तोकेको थियो । 

२०७१ सालमा सम्पन्न महाधिवेशनले नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न ७० वर्षे उमेर हद विधानमै पारित गरेको थियो । जतिबेला केही नेताले सक्रिय राजनीतिबाट अवकाशसमेत लिएका छन् । अहिलेको विधान संशोधन मस्यौदाले ७० वर्ष उमेर हदको विषयमा केही बोलेको छैन । नवौं महाधिवेशनकै निरन्तरता भएकाले एमालेमा उमेरहदको बहस कार्यकर्ता तहमै पुगेको हो ।  

एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि ७० वर्षे उमेर हद हटाइएको थियो । त्यही अनुसार तत्कालीन नेकपाका जेष्ठ नेताहरु नेतृत्वमा बसिरहन पाउने थिए । तर गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै एमाले पूर्ववत् अवस्थामै फर्किएपछि एमालेमा भने ७० वर्षे उमेर हद लागु हुने अवस्था आएको हो । 

एमालेमा ७० वर्षे उमेर हद लागु हुँदा नवौं महाधिवेशनपछि भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । एमालेको विधान, २०४९ (नवौँ महाधिवेशन, २०७१ को संशोधनसहित) को धारा ६५ उपधारा ३ मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था गरिएको छ । विधानको धारा ७१ ले ज्येष्ठ कम्युनिष्ट मञ्चको व्यवस्थासमेत गरेको छ ।
 
सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरू त्यही मञ्चको सदस्य हुने व्यवस्था विधानमा गरिएको छ । धारा ७१ ले पार्टीका विभिन्न तहका कमिटीहरूले आवश्यकता अनुसार तोकिए बमोजिम ज्येष्ठ कम्युनिस्ट मञ्च निर्माण गर्न सक्ने र हरेक वर्ष पार्टी स्थापना दिवस वा विशेष अवसर पारेर ज्येष्ठ कम्युनिस्ट योद्धाहरूको सम्मान गर्ने व्यवस्था गरेको छ । एमालेको १० औं केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको संशोधत विधान मस्यौदामा पनि त्यही व्यवस्थालाई यथावत राखिएको छ । 

एमालेको नवौँ महाधिवेशन हुँदै गर्दा ७० वर्षे उमेर हदको व्यवस्थाले नयाँ पुस्ताले शीर्ष नेतृत्वमा आउने कुराले धेरैको ध्यान तानेको छ । यसले एमालेका दोस्रो तहका नेताहरु उत्साही बनेका छन् । एमालेको आठौं महाधिवेशनमा पनि ७० वर्षे उमेरहदको विषय उठेको थियो । तर तत्कालीन समयमा एमाले नेतृ सहाना प्रधानका कारण उक्त कुरा अगाडि बढ्न नसके पनि नवौं महाधिवेशनले त्यसलाई प्रयोगमा समेत ल्यायो । 

अहिले पनि ओलीका लागि भन्दै ७० वर्षे उमेरहद संशोधन त हुने होइन भन्दै आशंका पनि शुरु भएको छ । तर ओलीले उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने भनिरहेका छन् । तत्कालीन एमाले उपाध्यक्ष  वामदेव गौतमले आठौँ महाधिवेशनमा उमेर हद लागू गर्ने कुराको चर्को विरोध गरेका थिए । 

दुई पार्टी एकता भएर गठित नेकपाको विधानमा उमेर हदको व्यवस्था हटाउन नेता गौतमकै मुख्य भूमिका थियो । अहिले पनि एमालेमा उमेर हद कायमै रहेकाले उनका लागि उपयुक्त स्थान नहुने देखेपछि उनले राजीनामा दिएर माधवकुमार नेपाल नेतृत्व एकिकृत समाजवादीमा प्रवेशको तयारी गरेका छन् । 

गौतम २६ असार २००५ मा जन्मेका हाल ७३ वर्षका भए ।  त्यस्तै एमालेबाट माधव नेपालको पार्टीमा पुगेका वरिष्ठ नेता झलनाथ खनाल वि.सं. २००६ साल चैत ६ गते जन्मिएका ७० वर्ष पार गरेर ७२ वर्ष लागिसकेका छन् । 

त्यस्तै अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उमेर हदका कारण बिदा लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली गत ११ फागुनदेखि ६९ वर्ष पूरा भएर ७० लागेका छन् । 

उनी वि.सं. २००८ साल फागुन ११ गते जन्मिएका हुन् । यदि एमालेमै बसिरहेका भए माधवकुमार नेपाललाई भने ७० वर्षे उमेर तत्काल लागु हुँदैनथ्यो ।  नेता नेपाल वि.सं. २००९ साल फागुन २३ गते जन्मिएका हुन् । उनी बल्ल ६८ वर्षका भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ