arrow

गगन थापाको वडामा सर्वसम्मत रुपमा कांग्रेसको नेतृत्व चयन, काठमाडौंका केही वडामा मात्र निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
gagan-thapa-umedwari.jpg

काठमाडौं । नेपाली कांग्रेस काठमाडौैंका अधिकांश वडामा सर्वसम्मतले नेतृत्व चयन भएको छ । प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौंमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुने अवस्था सिर्जना भएको छ । केही वडामा बुधवार  निर्वाचन प्रक्रियाबाट अधिवेशन भइरहेको छ ।

त्यस्तै दुई साता अघि मात्र आसन्न १४औं महाधिवेशनका लागि केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाको ३० नम्बर वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । दल बहादुर कार्कीको सभापतित्वमा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

३ सय ५ क्रियाशील सदस्य रहेको काठमाडौं महानगरपालिका–३० को उपसभापतिमा नन्दकृष्ण तन्डुकार र सुदिप शर्मा, सचिबमा उमेश मुनीकार र सिता तिमल्सिना, सहसचिबमा रमेश खड्की र विनु श्रेष्ठ पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा २० पुरुष र नौं जना महिला प्रतिनिधि सर्वसम्मतले चयन भएको स्थानीय नेता मनोज डंगोलले जानकारी दिए । १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र र २० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन्। काठमाडौंमा ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

दुई साता अघि वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उनले आफ्नो दाबीका विषयमा आम कार्यकर्ता र शुभेच्छुकहरुमा कौतुहलता रहेको भन्दै थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेका कामहरुले सफलता प्राप्त गरेको भन्दै आफ्नै वडाबाट उम्मेद्‌वारी घोषणा गरेको र सबै अग्रज साथै शुभेच्छुकहरुको सहयोग मिल्ने अपेक्षा पनि व्यक्त गरेका थिए ।

‘उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन् । मेरो बडा र अग्रजहरुबीचमा उभिएर गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्दछु’ उनले आफ्नो सम्बोधनका क्रममा भनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ