arrow

एमसिसी जबरजस्ती ल्याए जलाउँछौँ, ल्याउनेलाई पनि छाड्दैनौँ : विप्लव

logo
हरि पन्त,
प्रकाशित २०७८ असोज ६ बुधबार
Biplav-Netra-chand.jpg

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाई पनि नछाड्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा उद्घाटन गर्दै एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी नरहने स्पष्ट पारे। 

उनले भने, ‘त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाई पनि छाड्दैनौँ, त्यसले ठुलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ उनले एमसिसी राष्ट्रघाती भएको भन्दै एमसिसी देश जनताको विरुद्धमा भएको र त्यो ल्याउन नहुने र ल्याउन नहुने बताए । 

विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्यवाद नेपाल आइपुग्ने दाबी गरे । उनले भने, ‘त्यसैले यसका विरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको छ । एमसिसी विरुद्ध आफूहरू मात्र नभई कर्मचारी र सेना, प्रहरी पनि छन् ।’

उनले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न सुझाव दिए । विप्लवले नेपालका राजनीतिक दलहरू कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेकोसमेत आरोप लगाए । ‘एमसिसी ल्याउनुको मकसद नेताहरूलाई ५६ अर्बको १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको ६ अर्ब हुन्छ । त्यो खानलाई हो’, उनले भने । 

उनले विप्लवले नेपालमा एक वर्षमै ११ अर्ब बेरुजु भएको भन्दै त्यो भ्रष्टाचार भएको बताए । ‘११ अर्ब त नेपालमा बेरुजु मात्र रहेछ । भ्रष्टाचार गरेर मिलाउँदा मिलाउँदा पनि मिलाउन नसकेपछि निस्केको बेरुजु हो त्यो । कति मिलाएर खाए होलान् ?’, उनले भने ।

विप्लवले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारेमा जनमत सङ्ग्रह गर्न माग गरे । जनमत सङ्ग्रह गरे त्यसले दिने परिणाम मान्ने उनले बताए । जनमत सङ्ग्रह गर्दा शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने दाबी गरे । 

अहिले नेता मात्र नभई व्यवस्था नै असफल भइसकेकाले यसको विकल्प जनताले खोजिरहेको उनको भनाई छ । ‘हामीसँग तागत छ, हामी जित्छौँ । किनकि हामीसँग जनता छ, सत्यको बाटो छ, न्यायको बाटो छ’, उनले भने ।

विप्लवले अहिलेको व्यवस्थाले समाजवाद नआउने ठोकुवा गरे । ‘समाजवाद दलदलमा उभिएर आउने चिज होइन, बरु दलदलमा उभिनेहरू आफै भासिने हो’–उनले भने ।

बुधवारदेखि सुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन असोज ८ गते शुक्रवारसम्म चल्नेछ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन सत्र गरेको अखिल क्रान्तिकारीले बन्द सत्र भने पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा गर्ने अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए ।

अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केही पनि उपलब्धि हासिल नगरेकाले औपचारिक रूपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । 

‘वैज्ञानिक समाजवादी शिक्षा’ मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए । उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । प्रस्तावमाथि घनिभूत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दबाब दिइने उनले बताए ।

अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागी छन् । ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएको अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ