arrow

कछुवा चालमा मोतीपुर औद्योगिक क्षेत्रको काम 

logo
नारायण वली,
प्रकाशित २०७८ असोज ७ बिहिबार
motipura.JPG

रुपन्देही । रुपन्देहीको मोतीपुरमा निर्माण हुने मोतीपुर औद्योगिक क्षेत्रको काम कछुवा चालमा रहेको छ । शिलान्यास भएको करिब ६ महिना बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । 

गत फाल्गुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले संयुक्त रूपमा सो औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयहरूको विरोधका कारण सुरक्षा घेरामा शिलान्यास गरिएको थियो ।

त्यस वेला,औद्योगिक क्षेत्रमा अवरोध हुँदा योजना नै अव सङ्कटमा पर्ने हो कि भन्ने अवस्था समेत सिर्जना भएको थियो । स्थानीयहरूको जग्गा विषयले विवादित बनेको औद्योगिक क्षेत्र विकासको काम अव के हुने हो भन्ने अवस्था पुगेको थियो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शिलान्यास भएको १ महिना भित्र उद्योग स्थापनाको लागि आशय पत्र आह्वान गर्ने र उक्त आह्वान पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधारहरू अस्थायी सडक, विद्युत् र पानीको व्यवस्थापन गर्ने गरी योजना तयार पारे पनि लिमिटेडले तयार पारेको कार्य योजना अनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने आधारभूत संरचनाहरू निर्माण गरिसक्नु पर्ने भए पनि जग्गा विवाद अझै कायमै रहेकाले औद्योगिक क्षेत्रको निर्माण माथि प्रश्न उब्जिएको छ ।

सो क्षेत्रका स्थानीयहरूको व्यवस्थापन कार्य समेत नहुँदा मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य अन्यौलता परेको छ । 

अव्यवस्थित बसोबास तथा स्थानीयहरूलाई व्यवस्थापन गर्नका लागि भूमि आयोगसँग समन्वय गरिएको भए पनि वर्तमान सरकारले आयोग नै खारेज गरिदिएपछि थप अन्यौलता परेको मोतीपुर औद्योगिक क्षेत्र लिमिटेडका प्रमुख निमेश अधिकारीले बताए। 

औद्योगिक क्षेत्रमा रहेकाहरुको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढिरहेका वेला आयोग नै खारेज भएपछि अलपत्र जस्तै बन्न पुगेको छ ।

मोतीपुर औद्योगिक क्षेत्रका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ८ सय १३ विगाहको जग्गाधनी पुर्जा प्राप्त गरिसकेको बताएको छ,भने बाँकी रहेको १ सय ३३ दशमलव ४६ विगाहको लालपुर्जा प्राप्त गर्न बाँकी रहेको जनाएको छ । यसरी ९ सय ४६ दशमलव ४६ विगाहमा बन्ने औद्योगिक क्षेत्रका लागि डिपिआर निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कन समेतको काम भए पनि निर्माण कार्यले तीव्रता पाउन सकेको छैन ।

शिलान्यास भएको २ वर्ष भित्र उद्योग सञ्चालनमा ल्याउने र ५ वर्ष भित्र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सबै पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने योजना रहे पनि, सुस्तताले तोकिएको समयमा योजना सम्पन्न हुनेमा द्विविधा देखिएको छ ।

नेपाल सरकारले २०७२ साल चैत्र १ गते साबिक बुटवल नगरपालिका, टिकुलिगढ़ गाविस, आनन्द वन गाविस र फर्साटिकर गाविसका केही भाग, हाल बुटवल उप-महानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाँउपालिकाका चार किल्लालाई समेट्दै ८ सय १३ बिगाहा मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

मोतीपुर औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन अनुसार मोतीपुर औद्योगिक क्षेत्रको लागत करिब १२ अर्ब लाग्ने अनुमान उल्लेख गरिएको छ ।



नयाँ