arrow

विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती हो : पूर्व मुख्यमन्त्री पौडेल

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
dormani2.jpg

हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताएका छन् ।

सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप लगाएका छन् । पौडेलले सयौँ किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौँ रुपैयाँ बचाउने, घण्टौँको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्यूनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्त्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा सरकारले रोक लगाएको भन्ने खबरले मर्माहत र आक्रान्त बनाएको उल्लेख गरेका छन् ।

“पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत् उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुने गरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्दा मजाक पनि हो । यस्ता विकास विरोधी  निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उनले सुरुङमार्ग निर्माण पश्चात् नागरिकको स्याबासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको भन्दै निर्णयको तीव्र र सशक्त विरोध जनाउन म आम नागरिकसँग हार्दिक अपिल गर्दछु भनेका छन् ।

"यो केवल राजनीतिक बेइमानी मात्र हैन राष्ट्रप्रतिको गद्दारी पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरू घुमाउरा बनाउनुपर्ने सिधा र द्रुतमार्गहरू बनाउनै नहुने स्वार्थ बोकेका विदेशी व्यापारीहरूको दास बनेर देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित यस्ता राष्ट्रघाती निर्णय सच्याउन र दीर्घकालीन रूपमा देशलाई फाइदा हुने यस्ता कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु” उनको विज्ञप्तिमा उल्लेख छ ।  

यसअघि डोरमणि सरकारले बागमती प्रदेशमा विद्युतीय सवारी सञ्चालन गर्ने भन्दै खरिद प्रक्रिया अघि बढाएको थियो । त्यस्तै भीमफेदी कुलेखानी सुरुङमार्ग पनि प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको थियो तर उक्त निर्णयहरू भर्खरै बनेको गठबन्धनको सरकारले खारेज गरिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ