arrow

काँग्रेस महामन्त्रीका आठ आकाङ्क्षी : कुन समूहबाट को-को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
congress-mahamantri-candidate.jpg

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिदै गर्दा महामन्त्रीका आकांक्षी पनि बढ्दै गएका छन्। काँग्रेस विधानमा दुई जना महामन्त्रीको व्यवस्था छ।

महामन्त्रीमा काँग्रेसको हालको संस्थापन समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशसरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद महामन्त्रीको लाइनमा छन् ।

यसैगरी संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीको लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । महाधिवेशनको अघिसम्म यो सङ्ख्या बढ्न सक्छ । तर कुन समूहबाट उम्मेदवार बन्ने भन्ने तय भइसकेको छैन । यस्तै शर्मा सभापति देउवाले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका नेता हुन् । पौडेल भने सिटौला समूहबाट उम्मेदवार बन्ने सम्भावना छ ।

नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ ४ मा ३० भदौमा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

नेता पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका ८ मा आयोजित एक कार्यक्रममा केही समय अघि महामन्त्रीमा उठ्ने उम्मेदवारी घोषणा गरेका थिए।

संस्थापन समूहबाट सभापति देउवाले पाँच आकाङ्क्षीमध्ये दुईलाई महामन्त्रीको उम्मेदवार बनाउने निश्चित छ। तर उनको रोजाइमा को पर्छन् भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । 

तर महामन्त्रीमा उम्मेदवार बन्नेहरू निर्वाचित नभएको अवस्थामा भने केन्द्रीय समितिका अन्य कुनै पनि पदमा रहने छैनन् । निर्वाचित हुने दुई जना महामन्त्री बन्दा अन्य उम्मेदवार भने केन्द्रीय समिति बाहिरै रहनु पर्ने छ।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता पौडेलले काँग्रेसको सङ्गठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै काँग्रेसको कार्य क्षमतालाई थप सशक्त बनाउने उद्देश्यसहित आफूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।

‘काँग्रेसको सङ्गठनलाई व्यापक बनाउँदै निर्वाचनमुखी बनाउनु छ, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै काँग्रेसको आन्तरिक र बाह्य कार्य क्षमतालाई थप सशक्त बनाउने उद्देश्यसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको हुँ,’ पौडेलले हाम्राकुरासँग भने ।

नेता थापा भने सभापति देउवाइतर समूहलाई एक ठाउँमा ल्याउन प्रयासरत छन् । उनले तेस्रो धारको नेतृत्व गरिरहेका पूर्व महामन्त्री सिटौलालाई पनि सोही समूहमा ल्याउने आफ्नो प्रयास रहेको बताउने गरेका छन् ।

इतर समूह देउवालाई सभापतिमा रोक्न सभापतिको साझा उम्मेदवार खोजिरहेको छ । तर इतर समूहका नेताहरू पछिल्लो समय एकले अर्कालाई टेर्नेतर्फ भन्दा आफैँ उम्मेदवार बन्ने होडबाजीमा अघि बढिरहेका छन् ।

संस्थापन समूहबाट देउवा आफैँ सभापतिका आकाङ्क्षी हुन् । यस्तै विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने बताइरहेका छन् ।

इतर समूहबाट वरिष्ठ नेता पौडेल, नेता सिटौला महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापति पदका आकाङ्क्षी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ