arrow

उपराष्ट्रपति पुनले नाघे कुटनीतिक मर्यादा, सीपीसीको कार्यक्रममा सहभागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
VP-nanda-bahadur-pun.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कुटनीतिक मर्यादा नाघेका छन् । उनले मर्यादा नाघेर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले सोमबार आयोजना गरेको एक कार्यक्रममा सहभागीता जनाएका हुन् । भर्चुअल माध्यमबाट सहभागी भएका उनले १५ मिनेट भाषणसमेत गरेको जनाइएको छ । 

सीपीसीको विदेश विभागले पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौं बैठकले गत साता गरेका निर्णय दक्षिण एसियाली मुलुकका कम्युनिष्ट पार्टीलाई सुनाउन सोमबार कार्यक्रम आयोजना गरेको हो । नेपालबाट उपराष्ट्रपति पुन नै प्रमुख वक्ता थिए । 

कुटनीतिक विज्ञहरु यसलाई कुटनीतिक मर्यादा भनी प्रतिक्रिया दिएका छन् । उनी नेपालको कुनै पार्टी विशेषको नेताले झैं सहभागीता जनाएका थिए । तर उनले आफ्नो पदीय मर्यादा नै भुलेको विज्ञहरुको भनाइ हो । पुन नेकपा माओवादी केन्द्रका पूर्व नेता हुन् । 

यद्यपि उपराष्ट्रपति पुन उक्त कार्यक्रममा सहभागी भएको बारे परराष्ट्र मन्त्रालयका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् । कुटनीतिक आचारसंहिताअनुसार मर्यादा पालना भए नभएको हेर्ने मुख्य निकाय परराष्ट्र मन्त्रालय भए पनि उसले खासै चासो राखेको पाइँदैन । 

उक्त सीपीसीको कार्यक्रममा नेपालबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र मसालका महासचिव मोहनविक्रम सिंह सहभागी थिए । 



नयाँ