- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनको नारायणी नदी किनारमा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्र पछि सेन्चुरी होटलमा कार्यकर्ताहरु माझ उपाध्यक्षमा लड्ने घोषणा गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत महाधिवेशन गर्नलाई पटक पटक आह्वान गरिरहँदा भुषालले साँझ उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भने उनले अध्यक्ष वा वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने बताएका थिए ।
सर्वसम्मत प्रयास गरिएको बताइए पनि ओलीले उद्घाटन भन्दा अगाडि असन्तुष्ट मानिएका भीमबहादुर रावलसहित भुषाल तथा अष्टलक्ष्मी शाक्यसँग ईश्वर पोखरेललाई साक्षी राखेर छलफल गरेका थिए ।
तर उक्त छलफलबाट निष्कर्ष ननिस्केपछि अन्ततः भुषालले उपाध्यक्षमा लड्ने घोषणा गरेका हुन् । रावलले भने यसअघि नै अध्यक्षमा लड्ने बताइसकेका छन् ।
उद्घाटन नारायणी नदी किनारमा भए पनि बन्दसत्र भने सौराहामा हुँदैछ । बन्द सत्र शनिबार बिहान शुरु हुँदैछ । उम्मेदवारी दर्ताको समय शनिबार बिहान ८ः३० बजेदेखि हुँदैछ ।
आकांक्षीहरु धेरै भए पनि ओलीको हरियो बत्तीको संकेत नपाएसम्म कसैले मुख खोल्ने आँट गरेका छैनन् । तर चुनाव भने हुने पक्का जस्तै भएको छ ।
पदाधिकारीमा भन्दा केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै रहेका छन् ।
महाधिवेशन आइतबारसम्म चल्नेछ ।