- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधवार भगवान राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको छ । त्रेता युगमा बुधवारकै दिन भगवान राम र सीताको विवाह भएको मान्यताअनुसार बुधवार जनकपुरधाममा राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको हो ।
विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम स्वयम्वर र विवाह समारोह आयोजना गर्न लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बैष्णवले जानकारी दिए । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट दिउँसो सीताराम स्वयम्बरका लागि बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहसानमा राखी रङ्गभूमिमा पुर्याइन्छ, भने सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा स्थानीयका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गरेका छन् ।
रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेका सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिन्छ । गोश्वामी तुलसी दासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको र शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको मान्यता छ ।
रामायणमा उल्लेख गरिएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिक्षा जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । विवाहपञ्चमीको अवसरमा श्रद्धालु भक्तजन बुधवार बिहानैदेखि पवित्र सरोवर र गङ्गासागर नदीमा स्नान गरी पूजाअर्चना गर्ने गरेका छन् । सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।
यसैबीच विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ । जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन् । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यसवर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुले दर्शन गर्ने अनुमान गरिएको छ ।
विवाहपञ्चमीका अवसरमा हुने भिडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन बिदा दिएको छ । प्रदेश २ सरकारले पनि बुधवार प्रदेशभरी सार्वजनिक सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीको अवसरमा हुने भिडभाडमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । रासस