arrow

कांग्रेस १४ औं महाधिवेशन उद्घाटन (लाइभ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।  

कांग्रेसले उद्घाटनमा चार लाख मानिस उतार्ने जनाएको छ । विदेशबाटसमेत अतिथिहरु आएका छन् । महाधिवेशनमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् ।  

तीन सय अतिथि अटाउने गरी मञ्च बनाइएको छ । 


मञ्चमा तीन ‘रो’ हुनेछ । पहिलो ‘रो’ मा ४० जनासम्म कलाकारले एकै पटक प्रस्तुति गर्न सकिने गरी मञ्चको व्यवस्थापन गरिएको छ। यसैगरी दोस्रो ‘रो’ मा पार्टीका शीर्ष नेता अन्य दलका प्रमुख र विदेशी पाहुना रहने छन् । यसैगरी तेस्रो ‘रो’ मा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरुलाई व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ ।

यस्तै मञ्चको दायाँबायाँ सुरक्षाकर्मीहरुका लागि स्थान राखिएको छ। यस्तै मञ्चका दुवैतर्फ स्वाथ्यकर्मीहरुसमेत रहने गरी टेण्टको व्यवस्थापन गरिएको छ भने दुवैतर्फ खानेपानीको व्यवस्थापन हुनेछ।

यसैगरी मञ्च अगाडि दुई सय वटा पार्टीका झण्डा फहराउने गरी तयारी गरिएको छ भने मञ्चको पछाडि एलर्इडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीन वटा डिजिटल बोर्ड राखिंदै छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुई वटा डिजिटल बोर्ड रहने छन् ।

उपसमिति संयोजक पुडासैनीका अनुसार भृकुटीमण्डपमा एक हजार स्वयम्सेवक मञ्चको आसपासमा खटिने गरी व्यवस्थापन गरिएको छ भने आपतकालिक उद्धारका लागि एम्बुलेन्ससहितका स्वास्थ्यकर्मीहरुसमेत राखिनेछ।

यसैगरी कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार हुनेछन् भने ती स्थान बाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार राखिने छ।

आजको उद्घाटन सत्र सकिएपछि बन्द सत्र पनि आजै शुरु हुनेछ । 

यस्तो छ निर्वाचन तालिका 
कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ।

यस्तै दावी विरोधको समय सोही दिन बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही दिन नै राति ९ देखि १२ बजेसम्म हुनेछ। यस्तै मनोनयनपत्र फिर्ताका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ।

यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७  मंसिरको बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै शुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ।

यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ। सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् । कार्यसमितिमा एक जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् । 

त्यसैगरी एक–एक जना सहमहामन्त्रीसहित दलित ९, आदिवासी–जनजाति १५, खसआर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सबै क्लस्टरमा महिला कोटा आरक्षित छ । खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सभापतिसहित दुई–दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ ।

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 

‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ शुरु हुने महाधिवेशनका प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ । 

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पछिल्लो समय प्रविधिमा जोड दिँदै ‘डिजिटल कांग्रेस’ निर्माण अभियान थालेको छ । पार्टीको आधिकारिक वेबसाइटमा करिब ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्यको सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ । 

१४ औं महाधिवेशनमा निर्वाचित वडादेखि केन्द्रसम्मका सदस्य तथा पदाधिकारीको विवरण पनि सहजै हेर्न मिल्ने बनाइएको छ । शुक्रबार महाधिवेशनमा मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिँदै छ ।

पार्टीले निर्णय गरेको खण्डमा इलेक्ट्रोनिक मतदान प्रणालीबाट निर्वाचन गर्न सक्ने गरी प्रविधिको विकास पनि गरिएको थियो । तर १४ औं महाधिवेशनमा मतदाताले कागजी मतपत्रमा मतदान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ