arrow

राष्ट्रियसभा निर्वाचन : बागमतीमा उम्मेदवारी दर्ता, कति छन् मतदाता, मतभार कति ?

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ पुष २० मंगलबार
darta.jpg

हेटौंडा । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज मंगलबार उम्मेदवारहरूले उम्मेदवारी गराईरहेका छन् ।

बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ ।

निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी दिएका छन् । काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले हेटौंडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै नेमकिपाका दुई जनाले पनि उम्मेदवारी दिएका छन् । नेमकिपाका कृष्ण तामाङ र गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

रिक्त हुन लागेको पदका लागि आगामी माघ १२ गते निर्वाचनको कार्यतालिका छ । आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

बागमती प्रदेशको मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

पुस २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने समय छुट्याईएको छ भने २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

कति छन् मतदाता, मतभार कति ?

बागमती प्रदेशमा कुल १ सय १९ स्थानीय तह छन् । जसका  प्रमुख र उपप्रमुख गरी कुल २३८ जना हुन्छन् । एक गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहका प्रमुख र  उपप्रमुखको मतभार १८ हुन्छ । यसले गर्दा २३७ जनाको ४ हजार २६६ मतभार रहनेछ । 

त्यस्तै बागमतीमा प्रदेशसभा सदस्यको संख्या १ सय १० छ । जसमा एकजनाको कोरोनाका कारण निधन भएकाले १ सय ९ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार हुन्छ । 

यसरी हेर्दा बागमतीमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३४६ जना मतदाताको ९ हजार ४ सय ९८ मतभार रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ