arrow

भारतको गणतन्त्र दिवस विशेषः अहिलेसम्मकै ठूलो फ्लाइपास्ट, पहिलोपटक ड्रोन शो, नेपालको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
india-indian.jpg

काठमाडौं । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । सो अवसरमा आज भारतमा विशेष कार्यक्रम हुँदैछ । गणतन्त्र दिवस यसपालि विभिन्न अर्थमा विशेष रहेको जनाइएको छ । सबै परम्परालाई समेटेर कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

यसपालि अहिलेसम्मकै सबैभन्दा ठूलो फ्लाइपास्ट हुनेछ । राजपथमा सबैभन्दा ठूलो फ्लाइपास्ट हुन लागेको हो । भारतीय वायुसेना, सेना र नौसेनाका ७५ लडाकू विमानले फ्लाइपास्ट गर्नेछन् ।  पहिलो पटक ड्रोन शो आयोजना गरिने छ । २९ जनवरीमा बिटिङ रिट्रिट कार्यक्रमका अवसरमा १ हजार ड्रोन समारोहका हिस्सा हुने बताइएको छ । 

अमेरिका, चीन र रुसपछि भारत ड्रोन शो गर्ने चौथो राष्ट्र हुनेछ । स्वतन्त्रताको यति लामो अवधिमा पहिलो पटक कार्यक्रम आधा घण्टा ढिला शुरु हुनेछ । सधै १० बजे कार्यक्रम हुँदै आएकामा यसपालि १०ः३० बजे शुरु हुनेछ । 

राजपथमा सबैभन्दा पहिले देशका परमवीर चक्र विजेता र अशोक चक्र विजेता खुला जिप्सीमा पुग्नेछन् । अनि राष्ट्रपतिलाई सलामी दिनेछन् । 

लगातार दोस्रो वर्ष कुनै पनि विदेशी पाहुना नहुने भएका छन् । यसपालि समाजका कमजोर मानिएका चालक, रिक्साचालक, मजदूर, सरसफाइ कर्मचारी र फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई परेड देखाउने विशेष योजना बनाइएको छ । 

पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमर जवान ज्योति नगई नेशनल वार म्युजियम जानेछन् । इन्डिया गेटस्थित अमर जवान ज्योतिलाई नेशनल वार मेमोरियल स्थित अमर जवान ज्योतिमा विलय गराइएको छ । 

गणतन्त्र दिवसको अवसरमा इन्डिया गेटमा नेताजी सुभाषचन्द्र बोसको होलोग्राम छवि पनि देखाइने छ । मूर्ति नबनुन्जेल यही होलोग्राम छवि राखिने छ । 

आजको परेड समारोहमा पूर्ण डोज खोप लगाएका वयस्क र एक डोज लगाएका बालबालिका जान सक्नेछन् । १५ वर्षभन्दा कम उमेरकाले भने कार्यक्रममा सहभागीता जनाउन पाउने छैनन् । 

समारोहमा ६ हजार दर्शकमात्र हुनेछन् । गत वर्ष २५ हजार दर्शक रहेका थिए । 

यसपालि महात्मा गान्धीको मनपर्ने धुन बज्ने छैन । उनलाई मन पर्ने धुन ‘अबाइड विथ मी’ थियो । यसलाई हटाइएकोमा विवाद भएको छ । कांग्रेस आईले गान्धीको विरासत समाप्त गर्न भाजपा सरकारले चाल चलेको आरोप लगाएको छ । 

यो धुनको सट्टा ‘सारे जहाँ से अच्छा’ धुन बज्नेछ । 

भारतले हरेक वर्ष गणतन्त्र दिवस आठ दिनसम्म मनाउने गर्छ । सुभाषचन्द्र बोसको जन्म जयन्ती २३ जनवरी र महात्मा गान्धीको पूण्यतिथि ३० जववरी (शहीद दिवस) सम्म मनाउने गरिएको हो । 

नेपालको बधाई 

यसैबीच नेपालले शुभकामना दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्ना समकक्षीलाई शुभकामना तथा बधाई दिएका हुन् । 

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छिन् । 

भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् । 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । 

सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । 

त्यसैगरी परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना भारतीय समकक्षी डा. एस जयशङ्करलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ