arrow

काँग्रेस बागमती प्रदेश समितिको दोस्रो बैठक, ७ निर्णय गर्दै सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
congress-bagmati-meet-sukute.jpg

सुकुटे। नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको दोस्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती समापन भएको छ। काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ।

त्यस्तै आगामी दिनमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्या सहितको डाटा सङ्कलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय भएको छ।

बैठकले अहिलेको जल्दो बल्दो विषय एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी कम्युनिस्टले  गरेको भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय भएको सह महामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए।

त्यस्तै बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरूको मासिक लेवी तोकेको छ भने काँग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सह महामन्त्री श्रेष्ठले जानकारी दिए।

बैठकले प्रदेशको प्रधान कार्यालय हेटौँडा र काठमाडौँको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यहरूको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरूमा सह महामन्त्री जीवन डङ्गोल र ऋषिराम घिमिरे तोकिएको छ भने प्रदेशको दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा सफलतापूर्वक सम्पन्न गर्न सिन्धुपाल्चोक काँग्रेस र केन्द्रीय सदस्य मोहन बस्नेतलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ।

काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरूले एमसीसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यको बारेमा आ-आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ