एमसीसीलाई लिएर नेताहरु अलमलमा पार्ने चिनियाँ प्रयास जारी, ध्यान बीआरआईतिर
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
624
Shares
तस्बिर– फाइल
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर उत्तरी छिमेकी मित्र चीनले पटक–पटक प्रभावित पार्ने कोसिस गरेको छ । संसदमा एमसीसी पेश भैसकेको र त्यसलाई छलफलको क्रममा लैजान लाग्दा चीनका उच्च नेताहरुले नेपालको कम्युनिष्ट नेताहरुलाई फोन गरेर प्रभावित पार्ने कोसिस गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका प्रमुख नेताहरुलाई फोन गरेर एमसीसीलाई केही समय पछि धकेल्न आग्रह गरेका छन् ।
चीनले नेपालको राजनीतिमा चासो राख्ने क्रममा आफ्नो भूमिका र सक्रियता बढाउन खोजिरहेको संकेत गरेको छ । त्यसैको निरन्तरतास्वरुप बुधबार नेपालका कम्युनिष्ट नेताहरुलाई फोन गरेर एमसीसीबारे चासो राखेका हुन् । ‘विगतमा भारतीय नेताहरुले यसैगरी फोन गरेर वा नेपालमै आएर नेपालको राजनीतिमा प्रभावित पार्न खोज्थे तर अहिले चिनियाँ नेताहरुले भारतीय नेताहरुभन्दा एक कदम अघि सरेर नेपालको राजनीतिमा चासो राख्न थालेका छन्’, एमालेका एक नेताले भने ।
बुधबारमात्रै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का शीर्ष नेताले नेपालका दुई कम्युनिस्ट नेतासँग कुराकानी गरेका सो आग्रह गरेका थिए । सीपीसीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ र उपप्रमुख चेन चौले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका थिए । त्यसक्रममा दुवै नेताले एमसीसीलाई केही समय रोक्न आग्रह गरेको स्रोतको दाबी छ ।
चिनियाँ राजदूतावासले जनाए अनुसार सीपीसीका अनुसार ताओ र ओलीबीच बुधबार भिडियो कुराकानी भएको थियो । दुई नेताबीच नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयन र दुई पार्टीबीचको आपसी समझदारीलाई अझ सुदृढ बढाउने विषयमा छलफल भएको सीपीसीले जनाए पनि मूख्यतः नेपालको संसदले एमसीसी पेश गरिसकेको र त्यसले नेपालको राजनीतिमा पारेको असरको बारेमा कुराकानी भएको थियो ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन चौले पनि बुधबार नै पूर्वप्रधानमन्त्री समेत रहेका एस पार्टीका अध्यक्ष नेपालसँग भिडियो कुराकानी गरेका थिए । दुई नेताबीच दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धका बारेमा छलफल भएको सीपीसीले जनाएको छ ।
सीपीसीले एस पार्टीलाई त्यति महत्व नदिए पनि पछिल्लो पटक नेपालसँग एमसीसीको विषयलाई लिएर भिडियो कुराकानी गरेको थियो । त्यसक्रममा सीपीसीले नेकपा एकीकृत समाजवादी पार्टीसँग सहकार्य गर्न चाहेको पनि बताएको र नेपालको राजनीतिमा अमेरिकाले प्रभावित पार्न खोजेको विषयमा कुराकानी गरेका थिए ।
पार्टी र राज्य सञ्चालनका क्षेत्रमा आपसी अनुभव साटासाट गर्ने तथा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को ’फ्रेमवर्क’ मा रहेर विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाल सामु दबाब दिइरहेको आरोप लगाउँदै आएको छ । केही दिनअघि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालविरुद्ध धम्की कूटनीति शुरु गरेको बताएका थिए । उनले ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ’धम्की कूटनीति’ शुरू गरेको र चीनले प्रतिरोध गर्ने’ बताएका थिए ।
बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले एमसीसी भनेको ‘उपहारसँगै अल्टिमेटमको पोको आउने हो’ भन्दै प्रश्न गरेकी थिइन् । एमसीसी सम्झौता अनुमोदनको विषय पेचिलो बनिरहेका बेला गत माघ १८ मा सीपीसीका नेता ताओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिडियो संवाद गरेका थिए ।
‘बारम्बार चिनियाँ नेताहरुले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुसँग कुराकानी गरिरहेका हुन्छन्, चिनियाँ राजदूतले पनि घोषितरुपमै भेटिरहेका हुन्छौं, यही तरीका भारतीय नेताहरुले भनेको भए नेपालमा भारतीय हस्तक्षेप भएको भन्दै आन्दोलन शुरु भैसक्थ्यो’, एमालेका एक नेताले भने ।
नेपाली कुटनीतिज्ञहरुले सार्वभौम संसदले निर्णय गर्ने भएपछि छिमेकी मुलुकहरु यो विषयमा उपयुक्त नभएको बताइरहेका बेला चीनले निकै चासो दिइरहेको छ । एमसीसीलाई नेपालले सम्झौता गरेको ४ वर्ष बितिसकेपछि कार्यान्वयनको लागि छिटो अघि बढाउन लागेपछि चीन निकै चिन्तित बनेको छ ।
फागुन ६ को पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता पिनले अमेरिकाले नेपालसँग सहकार्यका नाममा मिचाहा कूटनीति शुरु गरेको टिपणी गरेको भन्दै नेपाल मामिलालाई लिएर चीनको आलोचना गरेका थिए ।
चीनले एमसीसी सम्झौतालाई लिएर अमेरिकाको आलोचना गरेपछि अमेरिकाले पनि जवाफ फर्काएको थियो । नेपाल मामिलालाई लिएर दुई शक्ति राष्ट्र आरोप प्रत्यारोपमा उत्रिदा एमसीसीमा भूराजनीतिक स्वार्थ हावी भएको टिप्पणीसमेत शुरु भएको छ ।