arrow

झस्केका प्रचण्डले गठबन्धन जोगाउन संसदमा यस्तो नाटक मञ्चन गर्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
prachanda-tension.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलसँगको सम्पर्क सम्बन्धलाई कसिलो बनाउँदै लगेपछि अत्तालिएको नेकपा (माओवादी केन्द्र) ले कांग्रेस र एमालेका बीचमा हुन खोजेको सहमति भाँड्ने कोसिसमा लागेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई संसदबाट पास गर्ने कि नगर्ने भन्ने विषयमा असहमति बढ्दै जाँदा सरकारबाट बाहिरिनु पर्ने र सत्ता गठबन्धन धरमराउने अवस्थामा पुगेपछि माओवादी केन्द्रले कांग्रेस र एमालेबीच हुने सहमतिलाई भाँड्ने कोसिसमा लागेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेको र सो संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि माओवादीले सो नीति लिएको हो । कांग्रेसले एमालेसँग संवाद बढाएपछि माओवादी निकै झस्किएको छ । 

माओवादी झस्किएपछि कैलालीमा भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि काठमाडौं बोलाएका थिए । माओवादीका पूर्व स्थायी समितिका सदस्यहरुको छलफल चलिरहेका बेला प्रचण्डले माधवलाई फोन गरेर काठमाडौं तुरुन्तै आउनु भन्दै बोलाएका थिए । 

उनी पनि निर्धारित कार्यक्रम छोट्याएर काठमाडौं आएर प्रचण्डसँगको छलफलपछि देउवालाई भेट्न पुगेका थिए । देउवालाई भेट्नुअघि शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने र त्यसका लागि प्रचण्डलाई जिम्मा दिने निर्णय गरेको थियो । 

माओवादी केन्द्रका एक नेताका अनुसार, कांग्रेस–एमालेका बीचमा हुन खोजेको नयाँ समीकरणले माओवादी र एस पार्टीलाई असर गर्ने भए पनि यो गठबन्धन जसरी पनि जोगाइराख्नुपर्ने निष्कर्ष निकालिाएको थियो । 

कांग्रेसले एमालेको माग पूरा गर्न सभामुख अग्निप्रसाद सापकोटामाथि लिइन सक्ने ‘एक्सन’ र माओवादीलाई राष्ट्रिय राजनीतिबाट बाहिर राख्ने प्रयास हुने विश्लेषण गरी अहिलेको गठबन्धन जसरी पनि जोगाउनु पर्ने रणनीतिमा लाग्नुपर्ने निष्कर्षमा पुगेको हो । 

एमाले–कांग्रेस समझदारी र विकसित हुन सक्ने सम्भावित राजनीतिक परिदृश्यको सूक्ष्म विश्लेषण शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा भएको माओवादी केन्द्रले अहिलेको गठबन्धनलाई कुनै पनि हालतमा जोगाउनु पर्ने र त्यसका लागि अध्यक्षले नै पहल गर्नुपर्ने गरी म्याण्डेड अघि सारेको छ ।

‘कांग्रेस साँच्चै इमानदार बनेको हो भने यो गठबन्धन भत्काउनु हुँदैन भन्ने माओवादीको निष्कर्ष छ, जसका विरुद्ध आन्दोलन गरेर अहिलेको अवस्थामा पुगियो फेरि पनि त्यही पक्षलाई साथमा लिएर कांग्रेस अघि बढ्न खोजेपछि माओवादी केन्द्रले अहिलेको गठबन्धन भत्किन नहुने निष्कर्षमा पुगेको हो’, माओवादी केन्द्रका एक उच्च नेताले भने । 

कांग्रेसले सत्तागठबन्धन तोडेरै भए पनि एमालेको माग सम्बोधन गर्ने र  एमसीसी सम्झौता सदनबाट पास गर्ने अडान लिएपछि माओवादी एक हदसम्म लचिलो बनेको हो ।  

माओवादी केन्द्रले गठबन्धन जोगाउने जिम्मा प्रचण्डलाई दिएपछि प्रचण्डले अर्थमन्त्रीसमेत रहेका नेता जर्नादन शर्मालाई साथमा लिएर प्रधानमन्त्री देउवासँग कुराकानी गर्न बालुवाटार पुगेका थिए । 

माओवादीले प्रधानमन्त्रीसँग छलफल अगाडि बढाए पनि एमसीसीबारे पार्टी धारणामा भने कुनै फेरबदल नगर्ने नीति पनि लिएको छ । सरकार बाहिर बसेर पनि सरकारलाई नै समर्थन गर्ने गरी माओवादीले मध्यमार्गी कुरा गरेको स्रोतको दाबी छ ।

‘एमसीसीमा विपक्षमा मतदान गर्ने निर्णय छ तर सरकारमै बसेर विपक्षमा मतदान गर्ने नैतिक रुपमा सह्य कुरा हुँदैन त्यसकारण बाहिर बसेर सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने गरी कुरा अघि बढिरहेको छ’, स्रोतले भन्यो । 

गठबन्धनको औचित्य नरहेको भन्दै कांग्रेस अघि बढेपछि माओवादीभित्र सरकारमा नबस्ने गरी बहस अघि बढे पनि शुक्रबारको बैठकले सरकार छाड्ने वा नछाड्ने विषयमा कुनै पनि निर्णय गर्न सकेन । 

तर माधवकुमार नेपाल काठमाडौं आए पनि प्रचण्डले केही समय छलफल गर्दा सो मध्यमार्गी धारणा राखेको स्रोतको दाबी छ । माधव नेपालले यो सरकारको विकल्प नभएकाले अहिले नै सरकारबाट बाहिर आउने कुरा सकारात्मक नभएको सुझाव दिएका थिए । 

माओवादीले संसदमा एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्ने दिन सदनमा विरोध गर्दै बहिष्कार गर्ने र प्रधानमन्त्री तथा कांग्रेसलाई पारित गराउन सहज बनिदिने गरी पनि गठबन्धनलाई कायम गर्ने गरी छलफल अघि बढाएको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
नयाँ