काठमाडौं । सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानूनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ’, बन्दीले भने ।
नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल शुरु गराउने योजनामा सरकार लागेको छ ।
यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।
एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) लचिलो भएका छन् ।
गगन थापाले संसद भवनमै व्याख्यात्मक ड्राफ्टमार्फत एमसीसी पास गर्न सकिन्छ भनेपछि यस विषयमा बहस भएको थियो । शुरुआती चरणमा गगन थापाको यो भनाइमा विरोध भए पछि पछि भने उनीहरु मान्न राजी भए ।