arrow

युक्रेनमा रहेको विश्वकै सबैभन्दा ठूलो विमान रुसले ध्वस्त पार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
Antonov AN-225.jpg

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणका क्रममा विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन-२२५ (Antonov An-225 Mriya) ध्वस्त भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । यो समाचारले उड्डयन संसारमा नै ठूलो उदासी पैदा गरेको छ ।

ड्रिम (सपना) युक्रेनी भाषामा मरिया नाम दिइएको यो ठूलो विमान किभ नजिकैको एक एयरफिल्डमा पार्क गरिएको थियो । सोही क्रममा रुसी सेनाले आक्रमण गर्दै विमान ध्वस्त गरेको युक्रेनी अधिकारीले जनाएका छन् ।

'रुसले हाम्रो 'मरिया'लाई नष्ट गरेको हुन सक्छ। तर तिनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्ने छैनन्। हामी जित्नेछौँ !', युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् ।

विमान ध्वस्त भएको अन्य स्रोतबाट भने पुष्टि भइसकेको छैन । एन्टोनोभ कम्पनीले विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको 'प्राविधिक अवस्था' प्रमाणित गर्न नसक्ने बताएको छ।

एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतबार एक विज्ञप्ति जारी गर्दै 'विमान नष्ट भएको तर, रुसको खर्चमा पुनर्निर्माण गरिने बताएको छ – जसको लागत ३ अर्ब अमेरिकी डलर लाग्ने', विज्ञप्तिमा उल्लेख छ ।

रुसी सेनाले शुक्रवार एएन-२२५ विमान रहेको होस्टमेल एयरफिल्ड कब्जा गरेको दाबी गरेको थियो । 

म्याक्सर टेक्नोलोजीका स्याटलाइट तस्बिरहरूले एएन-२२५ विमान रहेको ह्याङ्गरको भागमा ठूलो क्षति भएको देखाएको छ। 

यस्तै रिसोर्स म्यानेजमेन्ट सिस्टमका लागि नासाको फायर इन्फर्मेसनले पनि विमान राखिएको ह्याङ्गरलगायत विमानस्थलमा आगलागी भएको देखाएको छ ।

८४ मिटर लामो, २ लाख ८५ हजार किलोको यो विमान ८ सय ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्थ्यो । यो विमान सन् १९८० को दशकमा तत्कालीन सोभियत सङ्घ अन्तर्गत रहेको युक्रेनमा एयरोनटिक्स कम्पनी एन्टोनोभले डिजाइन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ