arrow

माओवादीको एमसीसी विवादमा विप्लवको इन्ट्री, नारायणकाजीसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
biplav-narayankaji-final.jpg

काठमाडौं । संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएपछि नेकपा माओवादी केन्द्रभित्र देखिएको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’को इन्ट्री भएको छ । 

पार्टी महाधिवेशनको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएको भन्दै माओवादी केन्द्रमा विवाद बढेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा विप्लवबीच कुराकानी शुरु भएको छ ।
  
माओवादीभित्र विवाद चर्केपछि विप्लवले बिहान श्रेष्ठ निवास हरिसिद्दिमा पुगेर श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट भएको र उनले एमसीसी पास भएको दिनलाई कालो दिन भनेपछि विप्लवले श्रेष्ठसँग सम्पर्क बढाएका थिए । 

यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै च्रित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेपछि मंगलबार श्रेष्ठले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए । साथै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेका थिए ।  

श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला मंगलबार राति प्रचण्डले भेटघाट गरी पार्टी विभाजन नगर्न आग्रह गरेका थिए । तर आज बिहान विप्लवले श्रेष्ठसँग कुराकानी गरेका छन् । 

शुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगमनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएपछि माओवादीभित्र श्रेष्ठसहित कृष्णबहादुर महरा लगायतका नेताहरुले असहमति व्यक्त गरेका थिए । 

पार्टीभित्र असहमति भए पनि प्रचण्डले संसदीय दलका सचेतक देव गुरुङलाई ह्वीप लगाउन लगाएर एमसीसीलाई अनुमोदन गराएका थिए ।  

मंगलबार श्रेष्ठलाई उनका समूहका नेताहरुले तत्कालै माओवादी केन्द्रको सदस्यबाट राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाइएको केन्द्रीय समिति बैठकमै समेत जान नहुने र नयाँ ढंगले पार्टी पुनःनिर्माण लाग्नुपर्ने दवाव दिएका छन् । 

श्रेष्ठले आपसमा सल्लाह गरेकै बेला विप्लवसँगको कुराकानीले नयाँ मोड लिनसक्ने माओवादी नेता कार्यकर्ताहरुको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ