arrow

विषय एमसीसीको, दोहोरी ओली र प्रचण्ड–नेपालको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
oli-prachanda-nepal-final.jpg
तस्बिर– फाइल

काठमाडौं । संसदमा सूचीकृत भएको तर अनुमोदन हुन नसकेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि त्यसको जश लिने होडबाजी चलेको बेला कम्युनिष्ट पार्टीबीच आरोप प्रत्यारोप चलेको छ । आइतबार राति संसदबाट एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्र, एमाले र नेकपा एसले सोमबार, मंगलबार पत्रकार सम्मेलन गरेर अनुमोदनको जश लिने होडबाजी चल्ने क्रममा एकले अर्काप्रति आरोप प्रत्यारोप गरेका हुन् । 

सोमबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएकोमा खुशी व्यक्त गरे । उनले अमेरिकी पक्षले नेपालको शर्त नमाने सम्झौता खारेज हुनेसमेत भन्न भ्याए । त्यही कुरा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दोहोर्याए । प्रचण्ड र माधव नेपालको धारणा समान थियो । 

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने व्याख्यात्मक टिप्पणीको कुनै औचित्य नभएको र यसले नेपाली जनतालाई भ्रम छरेको भने । ओलीले एमसीसीको कुनै पनि बुँदा परिवर्तन नभई अनुमोदन भएको र व्याख्यात्मक टिप्पणीको औचित्य नभएको बताए ।  

ओलीले त्यस्तो अभिव्यक्ति दिएको एक घण्टापछि नेपालले पनि पत्रकार सम्मेलन गरी ओलीलाई व्याख्यात्मक टिप्पणी भनेको थाहा नभएको र त्यसबारेमा केही विषय नै नबुझेको आरोप लगाए । 

उनले विकास परियोजना भएकाले एमालेको यसमा बेग्लै धारणा नहुने तर एमसीसी राष्ट्रघाती छ भन्नेहरुले राताराता राष्ट्रवादी देखेको र लाज ढाक्न संसदमा व्याख्यात्मक टिप्पणी गर्नु झुटको खेती गर्नु, जनतालाई ठगी गर्नु र त्यसको कुनै अर्थ नभएको दाबी गरिरहँदा नेपालले ओलीमा त्यस्तो बुझन सक्ने क्षमता नभएको बताएका हुन् ।

‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्यो । तर पास भइसकेपछि कार्यान्वयनमा जानुको विकल्प छैन,’ अध्यक्ष ओलीले भने । 

त्यसको लगत्तै नेपालले ओलीले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले एमसीसीबारे जे जे भ्रमहरु उत्पन्न भएका छन् ती सबै भ्रमहरु ओली र ओली नेतृत्वका सरकार र मन्त्रीहरु नै भएको आरोप लगाए । उनले केपी ओलीमा नक्कली राष्ट्रवाद हावी रहेकोसमेत आरोप पनि लगाए । 

‘एमसीसीमा राष्ट्रघात भएको हो कि हैन तपाईहरुले उहाँहरुलाई सोध्नुपर्ने कुरा हो । राष्ट्रघात भएको हैन भने किन हल्ला चलाउनु, किन कार्यकर्ता परिचालन गराउनुभयो, किन ढुङ्गामुढा गराउनुभयो, किन बाटो भत्काउनुभयो । प्रचण्ड माधव नेपालहरुले कार्यकर्ता उकासेर,आवेश उत्तेजनामा ल्याएर देशभक्तिको एउटा भावना उरालेर बाटो भत्काउन र ढुङ्गामुढा गर्न लगाउनुभयो । सत्ता जोगाउनका लागि जनतालाई दुःख दिनुभयो । सभामुखको पद जाने भयो, माधव नेपालको पद जाने भयो । त्यसो भएपछि यो एमसीसी पारित गर्नुभयो । राष्ट्रघात सार्वभौम सत्ताको प्रश्न हो भने सभामुखको पद वा फलानाको पदसँग साटिन सक्छन् ? त्यो जोडिन वा साटिन सक्ने विषय नै हैन । तर उहाँहरुले त्यसैगरी व्याख्या गरेको सुन्नुभएको छ,’ ओलीले भने । 

अघिल्लो दिन प्रचण्डले पनि ओलीले जस्ताको तस्तै एमसीसी पास गर्न खोजेको तर आफूले नै वैकल्पिक मार्ग सुझाउँदा पनि एमालेले नमानेको दाबी गरेका थिए । एसका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डको धारणा भने आफूहरुकै कारण एमसीसी संसदबाट पास हुनु र व्याख्यात्मक टिप्पणी आएको दाबी थियो । 

एमाले अध्यक्षको धारणा भने यसको कुनै औचित्य नभएको यसअघि आफूले संसदमा पेश गरेको सूचीकै आधारमा वर्तमान सरकारले संसदबाट पास गरेको दाबी थियो ।

 ‘एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो, त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो,’ नेपालले भने । 

उता प्रचण्डले पनि एमाले अध्यक्षकै कारण एमसीसी गिजोलिएको र एमालेका नेता प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा अमेरिकी सैन्य रणनीति अन्तर्गत राख्न खोजिएको तथा नेपालमा त्यसको विरोध भएपछि हटाइएको दाबी गरे । 

उता ओलीले नेपालप्रति लक्षित गर्दै गठबन्धन भत्किएमा माधव नेपालको अस्तित्व नै नरहने भएकाले एमसीसी पास गर्नुपर्ने बाध्यता रहेको बताए । तर एकीकृत समाजवादी पार्टीलाई जोगाउने सभामुखले राजीनामा दिएर नबाहिरिए एमाले महाभियोग लगाउन तयार रहेको पनि उल्लेख गरेर तर्साउन खोजे । 

उता माधव नेपालले सभामुखलाई ओलीले हटाउन नसक्ने र सभामुखलाई महाभियोग लगाए त्यसको विपक्षमा उभिने बताए । एमसीसीका सन्दर्भमा सत्तारूढ दलहरूले भन्दै आएको व्याख्यात्मक घोषणालाई ‘तथाकथित व्याख्यात्मक’ भन्दै अध्यक्ष ओलीले त्यसको कुनै औचित्य नभएको बताए पनि नेपाल निकै आक्रोशित भएका थिए । 

एससीसीको विरुद्धमा भएको आन्दोलन प्रचण्ड र नेपालको निर्देशनमा भएको उनको भनाइ थियो । माधव र प्रचण्डले कार्यकर्तालाई हिंसात्मक ढंगले उतारेको भन्दै उनले भने, ‘सडक भत्काएर, ढुंगा हानेर, विपक्षी दलका नेताका गाडीमा ढुंगा हानेर नक्कली कुरा गरेको’ आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ