arrow

माओवादीभित्र प्रचण्डको बोली बिकेन, एमसीसीले रडाको, केन्द्रीय समिति रोकेर विस्तारित बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
prachanda-final1.jpg
तस्बिर– फाइल

काठमाडौं । माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसको समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारलाई केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका छन् । शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको आलोचना भएको र त्यसलाई थेग्न नसकेपछि सानो घेरामा छलफल गर्ने गरी शनिबार बिहानलाई पूर्व स्थायी समिति सदस्यहरुको बैठक बोलाएका हुन् । 

पूर्व स्थायी समिति सदस्यहरुलाई समेटेर प्रचण्डले विस्तारित कार्यालय बनाएका छन् । ‘केन्द्रीय समितिको बैठक आइतबार छ । त्यसभन्दा अघि केही महत्वपूर्ण विषयहरुमा छलफल गर्नुपर्ने भएकाले कार्यालयको विस्तारित बैठक बोलाइएको हो’, कार्यालय सचिव श्रीराम ढकालले भने । 

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेञ्ज (एमसीसी) को विषयमा लिखित रुपमै फरक मत राखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरा, माओवादी संसदीय दलका सचेतक देवप्रसाद गुरुङ र नेता लिलामणि पोखरेलले एमसीसी बारेमा लिखित रुपमै फरकमत राखेका हुन् । 

महरा, गुरुङ र पोखरेलले एमसीसीबारे प्रचण्डलाई लिखित रुपमै फरक मत बुझाएपछि प्रचण्ड निकै अप्ठेरोमा परेका थिए । उनले बैठकको शुरुआतमै एमसीसी अनुमोदन गर्नुको कारण बताए पनि नेताहरुले त्यसलई पत्याउने अवस्था बनेको थिए ।

‘बैठकमा एमसीसी विरोधी महोल बनेको थियो जसले पार्टी अध्यक्षलाई अप्ठेरामा पार्यो’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । उनका अनुसार प्रचण्डले बैठक अवधिभर आफूलाई निकै असजिलो महसुस गरेका थिए । 

वरिष्ठ नेता श्रेष्ठले बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष  प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताएपछि प्रचण्डले बैठक अवधिभर असजिलो महसुस गरेका थिए । 

श्रेष्ठले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए । त्यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । 

तर नेता श्रेष्ठले एमसीसीबारे व्याख्या गर्दै अमेरिकाले आर्थिक राजनीतिक विस्तारवाद अपनाएको बताएका थिए । ‘एमसीसीको मूल उदेश्य नै अमेरिकाको सुरक्षालाई सुदृढ गर्न आफ्नो हतियार प्रयोग गरेर विचार, राजनीति आर्थिक सामाजिक प्रणालीलाई विस्तार गर्ने हो,’ श्रेष्ठको भनाई उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

शुक्रबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा एमसीसीको एजेण्डा पेश भएपछि नेताहरुबीच चर्काचर्की बहस भएको थियो । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष प्रचण्डले एमसीसी बारेमा भएका छलफल र सहमति तथा १२ बुँदै ब्याख्यात्मक घोषणाबारे स्पष्ट पार्न खोजेका थिए । एमसीसी स्वीकारेकै कारण गठबन्धन चुनावसम्म नै जाने प्रचण्डले तर्क गरे पनि केन्द्रीय सदस्यहरुले त्यसलाई पचाउन सकेका थिएनन् । 

एमसीसी अनुमोदन पछिको विवाद केन्द्रीय समितिको बैठकमा थेग्न नसक्ने अवस्थामा पुगेपछि विवाद समाधानका लागि शनिबार बिहान कार्यालयको विस्तारित बैठक बोलाइएको स्रोतको दाबी छ । 

पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको पार्टीको आठौं महाधिवेशनपछि शुक्रबार बसेको दोस्रो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठले आफ्ना धारणा राखिरहेका बेला केन्द्रीय सदस्यहरुले एमसीसीमा प्रचण्डले गल्ती गरेको भन्दै होहल्ला गरेपछि माओवादी केन्द्रीय समितिको बैठक नेताहरुको नियन्त्रण बाहिर गएको थियो ।

‘केन्द्रीय सदस्यहरु विभाजित हुनुभयो, यसलाई नेतृत्वले टुग्याउनुपर्ने अवस्था आयो त्यही भएर केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको हो’, स्रोतले भन्यो । 

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै निर्देशनमा साझा धारणा बनाउने भन्दै शनिबार बिहान पूर्व स्थायी समितिका सदस्यहरुलाई राखेर छलफल गर्न लागिएको हो ।  

वरिष्ठ नेता श्रेष्ठले एमसीसीबारे भिन्न मत राखेपछि कार्यालयको विस्तारित बैठकमा छलफल गरेर साझा धारणा बनाउने भन्दै प्रचण्डले यसलाई साँघुरो बनाउन चाहेका थिए । 

शुक्रबार दिउँसोको बैठक प्रचण्डका लागि अनुकुल बनेको थिएन । बैठक प्रतिकुल बन्दै गएपछि प्रचण्डले आइतबारसम्मका लागि स्थगित गराएका थिए । 

दोस्रो बैठकले महासचिव छान्ने, पदाधिकारीलगायतका विषयहरुलाई ध्यान दिनुपर्ने, चुनावी विषयलाई पनि ध्यान दिनेगरी केन्द्रीय समितिको बैठक बोलाइएकोमा एमसीसीमा अल्झिएपछि प्रचण्डले त्यसलाई सानो समूहबाटै टुंग्याउन चाहेका थिए । तर श्रेष्ठ लगायतका नेताहरुले एमसीसीमा राष्ट्रघात भएकाले गम्भीर विषयमा छलफल अघि बढाउन आग्रह गरेका थिए । 

‘शुक्रबार एमसीसी अनुमोदनको विषयमा विवाद भयो’, अध्यक्षको स्पष्टीकरण कसैले सुन्न नै चाहेनन्’, स्रोतले भन्यो । प्रचण्डले लामो समय एमसीसीबारे स्पष्टीकरण दिएका थिए । साथै गठबन्धन भएमा माओवादी आउँदो निर्वाचनमा दोस्रो ठूलो दल हुनेसमेत बताएका थिए । 

शुक्रबार केन्द्रीय सदस्यहरुबीच  एमसीसीको बारेमा साझा धारणा बनेको थिएन । ‘कार्यालयको विस्तारित बैठक बस्ने र त्यहीबाट साझा धारणा बन्नेछ’, एक केन्द्रीय सदस्यले भने ‘ केन्द्रीय समितिको बैठक जारी छ, शुक्रबारको बैठक एमसीसीमै केन्द्रित भयो ।’ 

उनका अनुसार अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा पार्टीले समर्थन गर्नुपर्नाका सबै राजनीतिक कारणहरु पेश गरे पनि त्यसबारेमा केन्द्रीय सदस्यहरुले चित्त बुझाएका थिएनन । ‘केन्द्रीय सदस्यहरुले प्रचण्डको कदमलाई सही भन्न नसकेको र यही परिस्थिति रहे प्रचण्ड निकै अप्ठेरो अवस्थामा पर्ने भएकाले आइतबारलाई बैठक सारेर पूर्व स्थायी समितिका सदस्यहरुको बैठक राखिएको हो’, स्रोतले भन्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ