नेकपा एसको केन्द्रीय कमिटी बैठकमा एमसीसीको बहस रोकिने, के छ अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
731
Shares
तस्बिर– फाइल
काठमाडौं । अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेकपा एकीकृत समाजवादी पार्टीमा पनि हलचल पैदा गरेको छ । सोमबार बसेको पोलिटव्यूरो बैठकमा झलनाथ खनालको आलोचना भएपछि खनाल पक्षका केही नेताहरुले एमसीसीको विषयमा आएको फरक मतलाई तल्लो कमिटीसम्म छलफल गर्न पाउनु पर्ने, फरक दस्तावेज राख्न पाउनुपर्ने भन्दै माग गरेपछि हलचल पैदा भएको हो ।
आजबाट शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यहरुले फरक मत राख्न खोजेको र त्यसलाई पार्टी महासचिव वेदुराम भुषालले फरक मत राख्न नदिने भनेको गुनासोसमेत आएको छ । ‘हामीले फरक मत राख्छौ भनेको पार्टी महासचिव भुषालले त्यसलाई इन्कार गर्नुभयो’, एस पार्टीका एक केन्द्रीय सदस्यले भने ।
असहमति रहेका १२ बुँदाको व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एसले समेत संसदबाट एमसीसी अनुमोदन गरिसकेपछि दुवै पार्टीमा विवाद उत्पन्न भएको थियो ।
सत्ता गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमतिपछि फागुन १५ गते प्रतिनिधि सभामा ध्वनि मतका आधारमा एमसीसी अनुमोदन भएको हो ।
तर यसो हुँदाहुँदै पनि माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो निर्णयमा पार्टी एकमत हुन सकेको थिएन । संसदमा दुवै पार्टीका नेताहरुले उठेर पार्टी ह्वीप विपरीत धारणा राखेका थिए ।
सोमबारको पोलिटव्यूरो बैठकमा पनि पार्टीका सम्मानित नेता खनालले एमसीसीमा पार्टीले गलत गरेको भन्दै आत्मआलोचना गर्नुपर्न धारणा राखेपछि पार्टीका केही नेताहरुले त्यसलाई आपत्ति जनाएका थिए ।
पोलिटव्यूरो बैठकमा खनालको आलोचना भएपछि उनी निकट रहेका केही नेताहरुले आजको केन्द्रीय कमिटी बैठकमा फरक मत राख्न खोजेका थिए । तर पार्टीका महासचिव भुषालले फोन गरेर फरक मत राख्न नदिने बताएको स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीका सम्मानित नेता खनालसहितका नेताहरुले असहमति प्रकट गरेका थिए । फागुन १५ गते संसदमा बोल्ने क्रममा पनि खनालले आफ्नो असन्तुष्टि प्रकटमात्र गरेका थिएनन् दोस्रो सदन नै बहिष्कार गरेर हिँडेका थिए । तर पछि फर्केर आएका थिए ।
आजको बैठकमा एसभित्र एमसीसीका विषयमा पार्टीले गरेको निर्णय र खनाल लगायतको असन्तुष्टि तल्लो तहसम्मका नेता कार्यकर्तामाझ छलफलका लागि लैजानुपर्ने असन्तुष्ट पक्षको माग रहे पनि ती माग पूरा हुने संभावना नरहेको स्रोतले जनाएको छ । मुल नेतृत्वले भने यो विषयलाई अहिले पार्टीभित्र छलफल गराउनु आवश्यक नरहेको भन्दै खनाल निकटका नेताहरुलाई फरक मत नल्याउन भनेको हो ।
अध्यक्ष नेपालले नै व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गर्ने निर्णयमा किन पुगियो भनेर पार्टी कमिटीका बैठकमा प्रष्ट्याइसकेका थिए । आजदेखिको केन्द्रीय कमिटीको बैठकमा उनले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पनि यो विषय समावेश गरिएको छ ।
‘जस्ताको तस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने, हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे, हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं, त्यसै क्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । त्यस धारणामा हामी पनि आधारभुत रूपमा सहमत भयौं,’ उनले आज पेश गर्ने राजनीतिक प्रतिवेदनमा भनेका छन् ।
एमसीसी अनुमोदन गर्ने निर्णयमा पनि असहमति जाहेर गरेका सम्मानित नेता खनालले एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय र एमसीसीका विषयमा पार्टीको तल्लो तहसम्मै लगेर छलफल गर्नुपर्ने अडान सोमबारको पोलिटब्यूरो बैठकमा राखेको र त्यही विषयलाई आजको बैठकबाट अघि बढाउनु पर्ने आवाज उठाउन सक्ने भएकाले अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा एमसीसीबारे प्रष्टिकरण जोडेको स्रोतको दाबी छ ।
त्यसैगरी आज पेश हुने राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले आफ्नो पार्टीको संगठन निकै कमजोर भएकोसमेत उल्लेख गरेका छन् । उनले देशभर संगठन नहुँदा निर्वाचन चुनौतिपूर्ण रहनेसमेत उल्लेख गरेको स्रोतले जनाएको छ ।
‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले एमाले र एमालेका अध्यक्ष ओलीप्रति लक्षित गर्दै प्रतिगमनका मतियारहरु सक्रिय रहेकोसमेत उल्लेख गरेका छन । उनले राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीको मुख्य शत्रु को हो भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।