माधवको आग्रहपछि गले झलनाथ, एमसीसीबारे कुतर्क गरेर फाइदा नहुने निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
1.1k
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद शुरु भएको छ । बुधबारबाट शुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा नेता खनालले अमेरिकी सहयोग अनुदान परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई हेर्ने विषयमा दुई नेताहरुबीच विवाद शुरु भएको हो ।
बुधबारको बैठकमा सम्मानित नेता खनालप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पार्टी भर्खरै निर्माण भएको र आउने निर्वाचनमा ठूलै चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने भएकाले सबै खालका विवादलाई अहिले नै बहसमा ल्याउन जरुरी नभएको बताएका थिए ।
उनले एमसीसीबारे बहस विवाद गर्नुको कुनै औचित्य नभएको बताउँदै सबै नेताहरुलाई एमसीसीमा विवाद नगर्न आग्रह गरेका थिए । ‘कमरेडहरुलाई म अनुरोध गर्दछु, पार्टीको ह्विप र निर्णय विपरीत उभिने काम नगरौँ यसले हामीलाई अराजकतातर्फ लैजान्छ’, अध्यक्ष नेपालको भनाई उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
अध्यक्ष नेपालले एमसीसी अनुमोदन हुँदा मात्रै पार्टीको अस्तित्व कामय रहेको र त्यसपछि गठबन्धन बलियो बन्ने दिशामा उन्मुख भएको बताएका थिए ।
तर सम्मानित नेता खनालले एमसीसीकै कारण नेपाली समाज विभाजित भएको र पार्टीभित्र पनि ठूलै समस्या रहेकाले यसको निरुपण गर्न तलसम्म बहस छलफलका लागि लैजानु पर्ने अडान राखेका थिए ।
त्यस क्रममा जगन्नाथ खतिवडा लगायतका केही नेताहरुले माधव नेपालको राजनीतिक प्रतिवेदनलाई सहयोग पुग्ने गरी पुरक प्रतिवेदन पनि पेश गर्न लागेका थिए ।
पुरक प्रतिवेदन ल्याउदा पार्टीलाई असर गर्ने भएकाले नेपालकै प्रतिवेदनलाई सच्याएर जाने सहमति गरिएको छ । एस पार्टीका केही कन्द्रीय सदस्यहरुले फरक मत राख्न नदिए बालकोट गएर एमालेमा विलीन हुनेसम्मको चेतावनी दिएपछि भने पार्टीका नेताहरुबीच लामो छलफल भएको थियो ।
त्यस क्रममा खनाल पनि एमसीसीको विवादलाई तत्काल समाधान गर्ने दिशामा अघि बढेको स्रोतको दाबी छ । ‘एमसीसी पारित नगरेको भए हाम्रो पार्टी नै सिध्याउने तयारी भएको थियो । तर हामीले ती सबै जोखिम टारेर पार्टीलाई जोगाएका छौं, नेपाली कांग्रेस र नेकपा एमाले बीचको वार्ता पाँच दलीय गठबन्धनलाई तोड्ने र हाम्रो पार्टीलाई सिध्याउनेतर्फ अग्रसर भएको थियो,’ नेपालले बैठकलाई सम्बोधन गर्नेक्रममा बताएका थिए ।
उनले ब्याख्यात्मक घोषणासहित एमसीसी सदनबाट पारित गरेर आफूहरुले सबै षड्यन्त्रलाई विफल पारेको पनि बताएको र अब पार्टीलाई निर्वाचनमा केन्द्रीत गर्नुपर्ने भएकाले आफहरुको ध्यान त्यता केन्द्रीत गर्नुपर्नेमा जोड दिएपछि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच तत्काललाई वाकयुद्धको अस्थायी युद्धविराम भएको छ ।
‘उहाँहरुबीच अब एमसीसीमा विवाद र बहस नगर्ने सहमति भएको छ । सायद यो विषयले बैठकमा प्रवेश पाउँदैन’, एस पार्टीका एक केन्द्रीय सदस्यले आज बिहान भने ।
नेता खनालले एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राख्दै एमसीसीबाट पछि हटेको नेताहरुले बताएका छन् । एमसीसीमा विवाद र बहस गरेर कुनै फाइदा नभएको निष्कर्षमा नेता खनाल पुगेको नेताहरुको ठम्याइ छ ।
एमसीसी सम्झौता संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएकोमा चर्को असन्तुष्टि जनाएका खनालले सम्झौता राष्ट्र हितको पक्षमा हुँदै नभएको बताउँदै आएका थिए ।
उनले चीनविरोधी नीति लिएको भन्दै पार्टी अध्यक्ष नेपालको पनि आलोचना गरेका थिए । एमसीसीको विषयलाई लिएर बैठकमा अध्यक्ष नेपालले सामाजिक सञ्जालमा नेता कार्यकर्ताले राखेका भनाइहरु समेत हटाउन निर्देशन दिएका थिए ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता खनालले एमसीसीका बारेमा ब्रिफिङ गर्ने क्रममा चुनाव आइसकेकाले अब एमसीसीको विवाद र बहस गर्न नहुने बताएका थिए ।
एस पार्टीका नेताहरुमध्ये खनालको इलाम जिल्ला राम्रो जनमत भएको मानिन्छ । खनालको निर्वाचन क्षेत्र रहेको सूर्योदय नगरपालिकाका मेयर पनि एस पार्टीमै लागेका छन् । जसका कारण माधव नेपालले खनाललाई चिढ्याउने पक्षमा देखिएका थिएनन् ।
उनले कांग्रेस र माओवादीको साथ भएन भने आफ्नो पार्टीको कतै पनि अवस्था राम्रो नभएको विश्लेषणसहित अहिलेको निर्वाचनसम्म सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरिरहेका छन् ।
आज पनि बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।