arrow

भारतको कर्नाटकमा हिजाब प्रतिबन्ध कायम, अदालतले भन्यो 'अत्यावश्यक हैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
karnataka-muslim-hijab.jpg

काठमाडौं। मङ्गलवार कर्नाटकको उच्च अदालतले हिजाब अनिवार्य धार्मिक अभ्यास हैन भनेसँगै त्यहाँ हिजाबमाथिको प्रतिबन्ध जारी रहेको छ।

अदालतले यस्तो आदेश दिनुअघि राज्य सरकारले 'सार्वजनिक शान्ति र सुव्यवस्था कायम राख्न' राज्यको राजधानी बेंगलुरुमा एक हप्ताको लागि ठुलो जमघटमा प्रतिबन्ध लगाएको थियो। 

मङ्गलोरले पनि मार्च १५ देखि १९ सम्म ठुलो जमघटमा प्रतिबन्ध लगाइको छ, भने उडुपीमा आज स्कुल र कलेजहरू बन्द गरिएका छन्।

हिजाब र केसरन स्कार्फलगायतका धार्मिक लुगाहरूले झडप र विरोध सिर्जना गरेपछि कर्नाटक उच्च अदालतले गत महिना यी लुगाहरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो।

त्यसपछि कयौँ मुस्लिम विद्यार्थीहरू र सो निर्णयविरुद्ध निवेदन गर्नेहरूले हिजाब लगाउनु भारतको संविधान अन्तर्गत ग्यारेन्टी गरिएको मौलिक अधिकार र इस्लामको अनिवार्य अभ्यास भएको बताएका थिए।

कर्नाटकका विभिन्न भागमा हिजाब लगाएका कारण विद्यालय र कलेजमा विद्यार्थीसहित शिक्षकलाई प्रवेश गर्न रोक लगाइएको छ।

विद्यार्थी र शिक्षकहरूले शैक्षिक संस्थाहरूमा सार्वजनिक रूपमा हिजाब फुकालेको भिडियोले ठुलो आक्रोश पैदा गरेको थियो। त्यसपछि उच्च अदालतले अस्थायी प्रतिबन्ध शिक्षकलाई नभई विद्यार्थीलाई मात्र लागू भएको स्पष्ट पारेको थियो।

गत वर्ष कर्नाटकको उडुपीको एक विद्यालयका विद्यार्थीहरूले हेडस्कर्फ लगाएर कक्षामा प्रवेश गर्नबाट रोकिएको आरोप लगाएपछि हिजाबलाई लिएर विवाद चर्किएको थियो।

फेब्रुअरी ५ मा कर्नाटकले 'कानून र व्यवस्थाको विरुद्धमा भएका लुगाहरू' माथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि  फेब्रुअरी १० मा उच्च अदालतले अस्थायी रूपमा सबै धार्मिक लुगाहरूमाथि प्रतिबन्ध लगाएको थियो।

सो विरुद्ध परेको निवेदनमा आज मार्च १५ मा अदालतले हिजाब अनिवार्य धार्मिक अभ्यास नभएको भन्दै आदेश दिएको हो। यससँगै त्यहाँ धार्मिक लुगाहरूमाथिको प्रतिबन्ध जारी रहने भएको हो।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ